ओ यात्री,
यति छिटै थाक्यौ ?
तिमीलाई त लेख्नु थियो
एउटा सुन्दर कविता – प्रेमीका निम्ति
अर्को विद्रोही कविता – सामाजिक न्यायका निम्ति
तिमीलाई त उठाउनु थियो प्ले कार्ड
जुनसुकै राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूमा
तिमीलाई त लेख्नु थियो स्टाटस
जुनसुकै अन्याय र अत्याचारहरूमा
तिमी त पुग्ने पनि गर्थ्यौ सडक
केही नारा लिएर
केही जिन्दावाद र मुर्दावाद लिएर
तिमी त बोल्ने पनि गर्थ्यौ त्यस्तो बेला
जतिबेला दुनियाँ मौनता साँधेर बस्थ्यो
बातै पिच्छे समाज भन्थ्यौ
देश भन्थ्यौ, विश्व भन्थ्यौ
सँगसँगै पृथ्वी भन्थ्यौ
रातभरि निदाउँदैनथ्यौ
जब रातारात बढ्थे पेट्रोल, डिजेलका मूल्य
साह्रै बिझाउँथ्यो तिमीलाई
जब दिनदहाडै बढ्थे सरकारी कलेजका शूल्क
समाचारमा जब आउँथे
जुनसुकै विभेदका चिसा घटना
तिमी आगो भन्दा बढी भर्भराउँथ्यौ
जब आउँथे
महिला र घरेलु हिंसाका अँध्यारा घटना
तिमी रगतभन्दा बढी रक्तिम हुन्थ्यौ
भ्रष्टाचारका फाइलमा
तिमी अडिग थियौ शून्य सहनशीलतामा
बलात्कारका मिसिलमा
तिमी अटल थियौ मृत्युदण्डको सजायमा
तिमीले
घण्टौँ बहस गर्दा मार्क्स बारे
बरु कुर्सी, टेबल थाक्थे
तिमी थाक्दैनथ्यौ
जलवायु परिवर्तन र पुँजीवाद बारे
तिमीले प्रिजेन्टेसन दिँदा
बरु प्रोजेक्टर र स्लाइड गल्थे
तिमी चर्किरहन्थ्यौ
अचेल नियाल्छु सडकहरू
निष्प्राण सालिक मात्र आन्दोलित छ
त्यहाँ कतै तिमी छैनौ
अचेल हेर्छु तिम्रो फेसबुकका भित्ता
माकुरा मात्र त्यहाँ उद्देलित छ
तिमी कतै छैनौ
ओ, थकित यात्री !
धेरै भयो तिमीले थकाइ मारेको
उठ,
अब अगि जानुपर्छ
सामाजिक न्यायको अविरल यात्रामा
परिविक्रम
रामपुर, चितवन