“The Prince” निकोलो म्याकियाभेलीको सबैभन्दा चर्चित र प्रभावशाली राजनीतिक कृति हो। यस पुस्तकले शक्ति हासिल गर्ने, राख्ने, र शासन गर्ने व्यावहारिक दृष्टिकोणलाई व्याख्या गरेको छ ।
लेखक म्याकियाभेलीका अनुसार सफल नेतृत्वले नैतिक मान्यतालाई भन्दा व्यावहारिकता र यथार्थपरक कदमलाई प्राथमिकता दिनुपर्छ । सत्ता कायम राख्न असामान्य, निर्दयी कदमहरू पनि आवश्यक पर्न सक्छन् । लेखकको विचरमा हिंसा र बल प्रयोग गरेर र जनताको समर्थनबाट गरि दुई तरिकाले शक्ति प्राप्त गर्न सकिन्छ ।
तर, शक्ति स्थिर राख्नका लागि डर र सम्मानको मिश्रण अनिवार्य हुन्छ । पुस्तकमा नेतृत्वहरूका लागि प्रेम भन्दा डर महत्वपूर्ण हरेको दाबी पाइन्छ ।
लेखकका अनुसार नेतृत्वको सफलता आंशिक रूपमा भाग्यमा र धेरैजसो नेतृत्वको क्षमता र चतुराइमा निर्भर हुन्छ । लेखकले पुस्तकमा शत्रुहरूलाई तुरुन्तै पराजित गर्नुपर्छ, तर कहिलेकाहीँ उनीहरूसँग गठबन्धन बनाउनु बुद्धिमानी मानेको पाइन्छ । ”
नयाँ राज्यमा पुराना व्यवस्थालाई परिवर्तन नगरी शासन स्थिर रहन सक्दैन” भन्ने दाबी गर्ने पुस्तकले यदि शासनलाई स्थिर बनाउन र लामो समयसम्म शान्ति कायम गर्नका लागि हिंसा गर्नु परेपनि यसलाई गलत मानिदैन भन्ने बिचार ब्याक्त गरेको पाइन्छ ।
पुस्तकमा लेखकले नेतृत्वलाई सधैं अनिश्चित परिस्थितिहरूका लागि तयार रहन र परिवर्तनशिल अवस्थामा अनुकूल हुन सुझाव दिएका छन् । “जनतालाई नियन्त्रणमा राख्नका लागि धर्मलाई साधनको रूपमा प्रयोग गर्न सकिन्छ, तर नेतृत्व स्वयम् धार्मिक हुनु अनिवार्य छैन ।” भन्ने धारणा रहेको “द प्रिन्स” पुस्तकले युरोपेली राजनीतिमा यथार्थवादी दृष्टिकोणको सुरुवात गरेको पाइन्छ । यो कृति आज पनि राजनीतिशास्त्र र नेतृत्व अध्ययनका लागि अत्यन्त महत्त्वपूर्ण छ।
– भिमसेन लिम्बु (इलाम)