
इटहरी – इटहरीस्थित विश्व आदर्श एकेडेमीमा यस वर्षको खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूलाई खेलकुदमा पनि अब्बल बनाउने उद्देश्यले एकेडेमीले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ।
पौष २८ गतेदेखि सुरु भएको यो खेलकुद सप्ताह विशेष कार्यक्रमका साथ समापन गरिएको हो। यो कार्यक्रम विशेषगरी राष्ट्रपति रनिङ शिल्ड तथा हिसान स्पोर्ट्स मिटका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता र अखिल नेपाल फुटबल संघ (एन्फा) कोशी प्रदेशका अध्यक्ष किशोर राईको प्रमुख आतिथ्यमा खेलकुद सप्ताहको समापन समारोह सम्पन्न भयो।

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, खोखो, ब्याडमिन्टन, चेस, तेक्वान्दो, योगा जस्ता विभिन्न खेलहरूमा प्रतिस्पर्धा गरेका थिए। सिनियर र जुनियर विद्यार्थीबीच गराइएको प्रतिस्पर्धामा जम्मा ४३५ स्वर्ण, ४३५ रजत र ४३० कास्य पदक वितरण गरिएको जानकारी कार्यक्रममा दिइयो।
विश्व आदर्श एकेडेमीले शैक्षिक गतिविधिका साथै विभिन्न खेलका प्रशिक्षक राखेर विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा पनि दक्षता प्रदान गर्दै आएको कुरा प्रिन्सिपल गणेशकुमार दुलालले जानकारी दिनुभयो। उहाँले एकेडेमीले विशेषगरी प्रविधि, शिक्षण, सीप र संस्कारलाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै आएको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि एन्फा कोशी प्रदेशका अध्यक्ष किशोर राईले क्रिकेटलगायत विभिन्न खेलकुदमा नेपाली खेलाडीहरूले पाउँदै आएको सफलताले खेलकुद क्षेत्रमा आकर्षण बढाउँदै लगेको बताउनुभयो। उहाँले खेलकुद क्षेत्र व्यावसायिक रूपमा समेत अघि बढिरहेको जानकारी गराउनुभयो।

खेलकुद समापन कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजकुमार राई, प्याब्सन इटहरीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, एन्फा कोशी प्रदेश सहसचिव केशव कार्की, एभिन्युज टेलिभिजनका कोशी प्रदेश प्रमुख सचिन पोखरेललगायत अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
२०७४ सालमा स्थापना भएको विश्व आदर्श एकेडेमीमा हाल नर्सरीदेखि स्नातकोत्तर (मास्टर) सम्मको अध्ययन अध्यापन हुँदै आएको छ।
