परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ‘आसेज’ (ASEZ) ले पुस ११ गते (सन् २०२४ डिसेम्बर २६) इटहरीस्थित परमेश्वरको मण्डलीमा ‘पृथ्वी पुनर्स्थापना परियोजना’ अन्तर्गत एक फोरम आयोजना गर्यो। विश्वव्यापी वातावरणीय समस्याप्रति जनचेतना जगाउने र सक्रिय सहभागिता बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी, प्रदेश सभासद् रोहित बहादुर कार्की, पूर्व प्रदेश समाज विकासमन्त्री जीवन घिमिरे, र पूर्व प्रदेश स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बु लगायत स्थानीय राजनीतिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा करिब ४२० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात परमेश्वरको मण्डलीका सदस्यहरूको च्याम्बर अर्केस्ट्रा र संयुक्त गायनबाट भयो। परम्परागत संगीतका साथै सेलो, भायोलिन, पियानो जस्ता वाद्यवादनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। संयुक्त गायन टोलीले वातावरण संरक्षणको महत्त्व झल्काउने गीत प्रस्तुत गर्दै उपस्थित सबैलाई प्रेरित गरेको थियो।
आसेजका सदस्यहरूले प्रस्तुतिकरणमार्फत भूमि विनाशका कारण र समाधानका उपायहरू प्रस्तुत गरे। वन पुनर्स्थापना, जलवायु परिवर्तन र पारिस्थितिक प्रणाली विनाश विरुद्धका गतिविधि, प्रदूषण न्यूनीकरण, जैविक विविधता संरक्षण, र दिगो वातावरण निर्माणका लागि विभिन्न संस्थाहरूसँग सहकार्यको महत्त्वमाथि प्रकाश पारिएको थियो। यो कार्यक्रम यस वर्षको विश्व वातावरण दिवस (जुन ५) को नारा “भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध” सँग मेल खाने बताइएको थियो।
आसेजले विश्वभर जलवायु परिवर्तन विरुद्धका गतिविधि, सामुदायिक सेवा, आपत्कालीन राहत, र अपराध रोकथाम जस्ता कार्यहरू गर्दै आएको छ। नेपालमा पनि आसेजले विभिन्न गतिविधि सञ्चालन गरेको छ, जसमा ललितपुरको मञ्जुश्री वृद्धाश्रममा स्वास्थ्य परीक्षण र भोजन वितरण, भक्तपुरको मध्यपुर ठिमीमा सरसफाई, काठमाडौँका विभिन्न स्थानहरूमा वातावरण सरसफाई, हर्न निषेध अभियान, शौचालय स्वच्छता सचेतना अभियान, र २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक र काभ्रेका विद्यालयहरूको पुनर्निर्माण जस्ता कार्यहरू समावेश छन्।
आसेजको निस्वार्थ सेवाभावको कदर गर्दै अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, ग्रीन एप्पल अवार्ड, ग्रीनवर्ड अवार्ड लगायत थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ। आशेजले नेपालको शिक्षा विभाग र डोमिनिकल गणतन्त्रको वातावरण विभाग जस्ता सरकारी निकायहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। संयुक्त राष्ट्र सङ्घका पूर्व महासचिव, रसायनशास्त्रका नोबेल पुरस्कार विजेता लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट पनि आसेजले प्रोत्साहन पाएको छ। गत जुन महिनामा कोरियामा आयोजित आसेज शिखर सम्मेलनमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले भिडियो सन्देशमार्फत आसेजका गतिविधिहरूको समर्थन गरेका थिए।
कार्यक्रमको अध्यक्षता परमेश्वरको मण्डली विश्व सुसमाचार समाज प्रदेश १ का प्रदेश संगठन प्रमुख सुमन योन्जनले गरेका थिए। पूर्वाञ्चल विश्वविद्यालयका सहायक प्राध्यापक मदन थापा, विश्व आदर्श कलेजका प्राचार्य गणेश कुमार दुलाल र जनता बहुमुखी क्याम्पसका प्राध्यापक बेनु सिटाैलाले विषयगत मन्तव्य राखेका थिए।