ज्ञवालीको ‘आराध्या’मा बाबुआमाको रेखदेखबिना हुर्किएका बच्चाको कथा

जागृति खबर संवाददाता

काठमाडौँ ।

सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ। यो फिल्मलाई सञ्चारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन्। ज्ञवालीले यसअघि ‘हनिमुन, डार्क मुन, एक लभर’ लगायत झण्डै दर्जन सर्ट फिल्म र केही म्युजिक भिडिओ निर्देशन गरिसकेका छन्।

आज सार्वजनिक ‘आराध्या’मा व्यस्त परिवारभित्र हुर्किरहेका बच्चाले बाबुआमाबाट पर्याप्त रेखदेख नपाउँदा उत्पन्न हुने मनोभाव प्रस्तुत गरिएको छ। बाबुआमाले आफ्नो छोरीको जन्मदिन र विद्यालयको वार्षिकोत्सवमा समेत समय दिन नसकेपछि छोरीले आफैँले आफैँलाई जन्मदिनको शुभकामना दिएको दृश्यले धेरैको मन चसक्क पार्छ।

अभिभावकहरु पेसा/व्यवसायमा संलग्न भएको हरेक सहरिया परिवारको कथा सर्ट फिल्मले देखाएको र उनीहरुलाई सोच्न बाध्य पारेको निर्देशक ज्ञवालीले बताए। फिल्मको कथा निर्देशक ज्ञवाली र आर्यन अधिकारीले लेखेका हुन्।

सर्ट फिल्ममा चर्चित अभिनेता आमिर गौतमले बुवाको र अभिनेत्री सुरविना कार्कीले आमाको अभिनय गरेका छन् भने बाल कलाकार द्रोस्टी शाहले छोरीको भूमिकामा खेलेकी छन्। त्यसैगरी सफु बुढाथोकी, नारायण कँडेल, प्राञ्जल पौडेल, सृष्टि भुसाललगायत कलाकारको अभिनय पनि सर्ट फिल्ममा देख्न सकिन्छ। यसअघि यो फिल्मको गीत “मिठी पापा” र टिजर सार्वजनिक भएका थिए। पत्रकार जीवन भण्डारीले लेखेको गीतमा बाल गायिका आरसी शाहको स्वर छ।

एक हप्ताभन्दा धेरै समय लगाएर काठमाडौं आसपास खिचिएको यो सर्ट फिल्म केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागी गराउँदा नेपालमा सार्वजनिक गर्न ढिला भएको निर्देशक ज्ञवालीले जानकारी दिए। इन्जिनियर सञ्जितकुमार शाहको लगानी, विशाल निरौलाको म्युजिक तथा एरेन्ज रहेको सर्ट फिल्म राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो।

फिल्मका प्रमुख सहायक निर्देशक बाबुराम निरौला हुन् भने युवराज घिमिरेले सहायक निर्देशकको जिम्मेवारी सम्हालेका थिए। फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका हुन् भने संकल्प भुजेलले खिचेका हुन्। सर्ट फिल्ममा निशा खनालको मेकअप, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, योगेशकाजीको ब्याकग्राउन्ड म्युजिक छ।