काम गर्न नसक्ने गरी राज्य संयन्त्रलाई थिलथिलो बनाएको छ : गृहमन्त्री

जागृति खबर संवाददाता

१० माघ, काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्न नसक्ने गरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बैठकलाई सम्बोधन गर्दै उनले पूर्ववर्ती सरकारले काम गर्न नसक्ने गरी राज्य संयन्त्रलाई थिलथिलो बनाएको बताएका हुन् ।

काम गर्नलाई कानुन पालनाभन्दा आदेश पालना गर्ने अवस्था सृजना गरिएको भन्दै उनले राज्यको संयन्त्रलाई कमजोर बनाइएको आरोप लगाएका हुन् । यिनै संयन्त्रलाई बलियो र काम गर्न सक्ने गरी बनाउन थालिएको उनले जानकारी दिए ।

नेपाली जनतालाई निराश नबनाउने गरी आफूले काम गर्न उनको प्रतिबद्धता जनाएका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न दिएको पटक पटक आदेशलाई प्रहरीले बेवास्ता गरेको भन्दै गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

उक्त विज्ञप्तिले गृहमन्त्रीको आदेश प्रहरीले नमाने स्पष्ट भएको र सुरक्षा संवेदनशीलतालाई ध्यान नदिई विज्ञप्ति जारी भएको भन्दै गृहमन्त्री लामिछानेको आलोचना भएको थियो ।

एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा
नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन-सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन÷सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सबै जनसङ्गठनले चैत मसान्तभित्र अधिवेशन÷सम्मेलनका लागि मिति घोषणा गरेका हुन् ।

गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसङ्गठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन÷ सम्मेलन गर्ने निर्णय गरेका थिए ।
सदस्य खड्काले सबै जनसङ्गठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन÷सम्मेलनको मिति तोकेको जानकारी दिनुभयो । उहाँका अनुसार अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा, नेपाल खेलकुद महासङ्घको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौँमा सम्मेलन हुने भएको छ ।

यस्तै लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको चैत १८ र १९ गते काठमाडौँ, नेपाल पिछडा वर्ग महासङ्घको चैत २२ र २३ गते वीरगञ्जमा, पेसागत महासङ्घ नेपालको चैत २४ र २५ गते काठमाडौँमा, अखिल नेपाल महिला सङ्घको चैत २५ देखि २६ गते काठमाडौँमा, अखिल नेपाल किसान महासङ्घको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा सङ्घको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ। एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि जनवर्गीय सङ्गठनका अधिवेशन नियमित हुन सकेका थिएनन् । एमालेका २३ जनवर्गीय सङ्गठन छन् ।