बुद्ध एयरको जहाज आकाशमै एक घण्टा फन्को मारेपछि मनोज गजुरेलसहित सबै यात्रु तनावमा

जागृति खबर संवाददाता

५ माघ, काठमाडौं ।

पोखराबाट काठमाडौंको हवाई उडान समय सामान्यतया ३० मिनेटको हो। तर, आज दिउँसो पौने २ बजे पोखराबाट उडेको जहाज काठमाडौंमा सवा ३ बजे करिब ९० मिनेटमा ल्यान्ड भएको छ।

सामान्य अवस्थामा भने जहाज सवा २ बजे ल्यान्ड हुनुपर्ने थियो। एक घण्टा बढी काठमाडौंको आकाशमा जहाज फन्को लगाउनुको कारण भने विमानमा समस्या भएर होइन।काठमाडौंमा बिहानैबाट बादल र कुहिरो लागेका कारण भिजिबिलिटी कम भएको काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ। भिजिबिलिटी कम भएपछि बाहिरी जिल्लाबाट आएका अरू केही विमान पनि आकाशमै थिए। जसले एयर ट्राफिक जाम भएको थियो।

बुद्ध एयरको ९ एन एएनआइ कलसाइनको विमान पोखराको आकाशबाट बाराको कलैया हुँदै काठमाडौं आएको हो। पाँच दिनअघि मात्र यती एयरको जहाज पोखरा विमानस्थल नजिक दुर्घटना भएको थियो। पोखराबाटै उडेको विमान १ घण्टा थप आकाशमा होल्ड हुँदा धेरै यात्रु डराएको विमानका यात्रु तथा हास्यकलाकार मनोज गजुरेलले बताए।

उनले भने ‘‘केही दिनअघि मात्रै दुर्घटना भएको कारण यात्रुहरू डराए। तर भिजिबिलिटी कम भएर आकाशमा होल्ड हुनु ठुलो विषय होइन। तर, केही नहुन्जेल केही पनि हुँदैन।’’ काठमाडौंमा बिहानैबाट बादल र कुहिरो लागेका कारण भिजिबिलिटी कम भएको छ। भिजिबिलिटी कम हुँदा आकाशमा जहाज फन्को लगाउनु सामान्य विषय मानिन्छ।

सचिव डा रेग्मीद्वारा ललितपुर नापी र मालपोतमा आकस्मिक निरीक्षण
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मन्त्रालय र मातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त र गुनासोरहित बनाउने प्रयासलाई कडाइका साथ कार्यान्वयन गरिने बताउनुभएको छ ।

नापी र मालपोत कार्यालय ललितपुरको आज आकस्मिक निरीक्षण गर्दै उहाँले सेवाग्राहीले व्यक्त गरेका गुनासो हटाउन तथा सदाचारितासहितको प्रभावकारी सेवा प्रवाह मिलाउन निर्देशन दिनुभयो । सचिव रेग्मीको नेतृत्वमा मन्त्रालयका सहसचिव निराजन घिमिरे, नापी विभागका महानिर्देशक जनकराज जोशी र भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतीसहितको निरीक्षण टोलीले कार्यालयको सेवा प्रवाहको स्थिति, अभिलेख व्यवस्थापनको अवस्था, हेल्प डेस्कको अवस्था र सेवाग्राही मैत्री कार्य वातावरण भए नभएको जानकारी लिएको थियो ।

उक्त टोलीले दुवै कार्यालयमा सेवाग्राहीसँग गरेको अन्तरक्रियामा सेवाग्राहीहरूले मालपोत र नापी कार्यालयले समन्वयात्मकरूपमा काम गर्नुपर्ने भन्दै बिचौलियाको कारणले अतिरिक्त रकम बुझाउनुपरेको गुनासो गरेका थिए । सेवाग्राहीले कार्यालयको सरसफाइमा ध्यान दिन सुझाव दिए ।

त्यसअवसरमा टोलीले नापीतर्फ हाल साविकको प्रक्रियालाई झन्झटमुक्त बनाउन र मालपोत कार्यालयले अनलाइन प्रणालीबाट सेवाग्राहीले विना झन्झट अतिरिक्त शुल्क नतिरी सेवा पाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

यसैबीच सचिव रेग्मीले बचतकर्ताको बचत फिर्ता नगर्ने सहकारीको पहिचान गरी तत्काल बचत फिर्ता गराउने व्यवस्था मिलाउन सहकारी विभाग राष्ट्रिय सहकारी महासङ्घ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । उहाँले सहकारी सङ्घ संस्थालाई सम्पत्ति शुद्धीकरण मुक्त क्षेत्र बनाउन पनि आग्रह गर्नुभएको छ ।