दुई छोरीपछि छोरा जन्मिँदा पशुपतिनाथको दर्शन गर्न आएका थिए भारतीय नागरिक सोनु

जागृति खबर संवाददाता

२ माघ, काठमाडौं ।

आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमध्ये पाँच जना भारतीय नागरिक थिए । तीमध्ये चार जना भारतको उत्तरप्रदेश राज्यको गाजिपुर जिल्लाका हुन् ।

पोखरा विमान दुर्घटनामा ज्यान गुमाउने सोनु जायसवाल एक भाकलका कारण नेपाल आएको खुलेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनी भगवान् पशुपतिनाथको दर्शन गर्ने आफ्नो भाकल पूरा गर्न नेपाल आएका थिए ।

दुई छोरीपछि उनको छोरा जन्मिएको थियो । छोरा जन्मिए पशुपतिनाथको दर्शन गर्ने उनले भाकल गरेको गाजिपुर जिल्लाको चक जैनब ग्राम पञ्चायतका प्रधान तथा उनका नातेदार विजय जायसवालले बताएका छन् । जब सोनुको विमान दुर्घटनामा मृत्यु भएको खबर चक जैनब गाउँमा पुग्यो उनको घरमा आफन्तहरू सान्त्वना दिन पुगे । घरमा रुवाबासी चलेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

विजय जायसवालका अनुसार ६ महिनाअघि सोनुको छोरा जन्मिएको थियो । छोरा जन्मिएपछि पशुपतिनाथमा शिर निहुराउने भाकल गरेकाले उनी १० जनवरीमा नेपाल पुगेका थिए । सोनु आफ्ना अन्य तीन जना साथीसँगै नेपाल आएको खुलेको छ । अभिषेक कुशहवा, विशाल शर्मा र अनिकुमार राजभरसँगै सोनु नेपाल आएका थिए । उनीहरू चारै जनाको विमान दुर्घटनामा मृत्यु भएको छ । उनीहरू पोखरा प्याराग्लाइडिङका लागि जाँदै थिए । प्याराग्लाइडिङपछि उनीहरू मंगलबार भारत फर्किने योजना रहेको बताइएको छ ।

हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा
आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ ।

क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौँ आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिनुभयो । बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिङ्गापुरबाट सर्भेयर खटाएको उहाँको भनाइ छ ।

दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिनुभयो । “बीमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बीमा गरेको हुन्छ । पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट भुक्तानी भइहाल्छ । मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बीमा रकम भुक्तानी हुन्छ”, उहाँले भन्नुभयो ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बीमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो । बीमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि चासो राखेको उहाँको भनाइ छ ।

“राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बीमा भुक्तानीबारे चासो राखेको थियो । बीमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौँबाट रिपोर्ट लिन सकिने भनिएको छ । दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ”, प्रवक्ता पौडेलले भन्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाइयात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुन्छ । चालकदलका सदस्यको भने एअरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ ।

आइतबार दुर्घटनामा परेको यती एअरलाइन्सको हवाइजहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ ।