चीनको सबैभन्दा ठूलो घुसपैठ, ४३ लडाकु विमान ताइवानभित्र घुसे

जागृति खबर संवाददाता

११ पुस, काठमाडौं ।

ताइवानको रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा ४३ चिनियाँ लडाकु विमानले ताइवानको सामुद्रिक क्षेत्रको उल्लंघन गरेको बताएको छ । त्यसका साथै यस अभ्यासमा कुल ७१ चिनियाँ विमान प्रयोग गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यी विमानहरूले ताइवानको खाडीलाई दुई भागमा विभाजन गर्ने काल्पनिक रेखा मध्य रेखा पार गरेका हुन् । चीनले गत आइतबार ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा ‘स्ट्राइक ड्रिल’ गरेको जानकारी गराएको थियो ।

चीनले ताइवान र अमेरिकाको उत्तेजक कदमका कारण यी अभ्यासहरू गर्नुपरेको बताएको छ । चीनले ताइवानलाई आफ्नो क्षेत्र भन्दै आएको छ । तर ताइवानले चीनको यो दाबीलाई अस्वीकार गर्दै आएको छ ।

ताइवानले यी अभ्यासहरूबाट चीनले क्षेत्रीय शान्तिमा खलल पारेर ताइवानी जनतालाई डराउन खोजेको बताएको छ । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ नौसेनाका सातवटा जहाज पनि ताइवान नजिकै देखिएको बतायो ।

ताइवानी रक्षा मन्त्रालयले चिनियाँ लडाकु विमान देखेपछि आफ्ना लडाकु विमानहरूले चेतावनी दिएको बताएको छ । त्यस क्रममा मिसाइल प्रणाली तयार राखिएको थियो ।

पछिल्ला केही वर्षयता चीनले ताइवानलाई आफ्नो शासन स्वीकार गर्न दबाब दिन थालेको छ । तर ताइवानको सरकार आफ्नो देशले शान्ति चाहेको तर आक्रमण भए रक्षा गर्न पछि नपर्ने बताउँदै आएको छ ।

निसीखोलामा तेइस हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिँदै
अहिले पनि बागलुङको निसीखोलामा सुविधायुक्त स्वास्थ्य संस्था छैनन् । यहाँका नागरिकले उपचारका लागि बुर्तिबाङ झर्नुपर्छ । बुर्तिबाङ पनि उपचार हुनसकेन भने पाल्पा, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता छ ।

वर्षौँ अगाडिदेखि स्वास्थ्य बीमाका कार्यक्रम सञ्चालन भए पनि धेरैले त्यो सेवा लिएका छैनन् । निसीखोला गाउँपालिकाले अहिले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ ।

गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पालिकाभरका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेका थिए । सोहीअनुसार गाउँपालिकाले गाउँ–गाउँमा पुगेर निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको हो । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले पालिकाभर रहेका २३ हजार तीन सय बढी नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउन निःशुल्क स्वास्थ्य बीमा गर्न थालिएको बताउनुभयो ।

उहाँले अशिक्षित तथा आर्थिक अभावका कारण नागरिकले सामान्य रोगको उपचार नपाएको भन्दै उनीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वास्थ्य बीमा कार्यक्रमलाई तीव्रता दिएको बताउनुभयो । गरिबीका कारण कयौँ नागरिकले उपचार नपाए ज्यान गुमाउनु परेको भन्दै अब कोही पनि आर्थिक अभावमा रोग पालेर बस्न नपर्ने अध्यक्ष घर्ती मगरले बताउनुभयो ।

उहाँले नेपाल सरकारले लिएको स्वास्थ्य बीमा अभियानमा गाउँपालिकाले हातेमालो गरी दूरदराजमा रहेका सबै नागरिकलाई यो अभियानमा सहभागी गराउने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले पुस महिनाभर सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिसक्ने गरी अभियान चलाइएको बताउनुभयो । उहाँले गाउँमै स्वास्थ्य बीमा गर्ने गरी सात वटै वडामा कर्मचारी खटाइने बताउनुभयो ।

निःशुल्क स्वास्थ्य बीमाका लागि गाउँपालिकाले यस वर्ष रु दुई करोड बजेट विनियोजन गरेको छ । उपाध्यक्ष घर्ती मगरले भन्नुभयो, “स्वास्थ्य बीमा यो महिनाभरि गरी सक्छौँ, यो अभियानबाट कोही पनि नागरिक छुट्ने छैनन्, सबै वडामा स्वास्थ्यकर्मी तथा कर्मचारी खटिने छन्, त्यसका लागि सबै व्यवस्थापन पूरा भएको छ ।” स्वास्थ्य बीमा गरेका नागरिकले एक वर्षसम्म रु एक लाख बराबरको निःशुल्क उपचार र औषधि प्राप्त गर्नेछन् ।