चिसोमा टन्सिल हुने कारण र उपचार विधि

जागृति खबर संवाददाता

काठमाडौँ ।

चिसो मौसम बढेसँगै धेरैजसोले भन्ने गरेको सुनिन्छ, ‘मलाई टन्सिल भयो, टन्सिल भएर धेरै गाह्रो बनाएको छ।’ वास्तवमा टन्सिल रोग होइन, यो हाम्रो शरीरको एउटा अंगको नाम हो। यहि अंग सुन्निएर समस्या आउँदा घाँटी दुख्छ, जसलाई टन्सिलाइटिस् भनिन्छ।

चिसोमा धेरैजसो स्वासप्रस्वासका समस्याहरू रूघाखोकी, पिनास, दम, निमोनिया आदिदेखि लिएर हाड जोर्नी दुख्ने, सुन्निने, मुटुका समस्या, उच्च रक्तचाप जस्ता समस्या बढी हुन्छ।

यस्तै चिसोमा बढी देखिने समस्यामा घाँटी दुख्ने समस्या पनि एक हो। यसैको सिकार बने, काठमाडौँ १३ का वचन श्रेष्ठ। उनलाई घाटी अलि अलि दुख्न थालेको एक महिना भैसक्यो। तर वास्तै गरेनन्।

‘दिनभर काममा बिजी हुन्थ्यो, बिहान सात बजे अफिस गयो, बेलुका सात बजे घर आउँदा धेरै थकाई लाग्थ्यो मलाई के भयो ? भनेर सोच्ने फुर्सदसम्म नि पाइन। आज पो धेरै दुख्यो अनि अस्पताल आएको’ उनी भन्छन्।

तर अस्पताल गएपछि उनलाई डाक्टरले निकै झपारेको अनुभव नमिठो लाग्यो। ‘डाक्टरले धेरै गाली गर्नुभयो, मेरो त घाटी धेरै बिग्रीएको छ रे, तर मैले जस्तो लापरबाही घाटी दुख्यो भने अरु कसैले नगरुन्’ पीडा पोख्दै उनी भन्छन्। वचन त उदाहरण मात्रै हुन्, आजभोलि धेरैलाई यो समस्याले सताउने गरेको छ।

टन्सिल के हो ?
हाम्रो घाँटी र जिब्रोको पछाडि भागमा दुबैतिर बदाम आकारको अंग हुन्छ जसलाई टन्सिल भनिन्छ। टन्सिल लिम्फेटिक प्रणालीको एउटा खण्ड हो। यो हाम्रो प्रतिरोध प्रणाली अन्तर्गत पर्दछ।

यसले हाम्रो नाक र मुखबाट आउने रोगका कीटाणु भाइरस, व्याक्टेरियालाई शरीर भित्र जानबाट बचाउने, रक्षा गर्ने वा मार्ने काम गर्छ। तसर्थ टन्सिललाई घाँटीको द्वारपाल अर्थात पहरेदार पनि भनिन्छ। यसलाई हाम्रो प्रतिरोध प्रणालीको पहिलो पंक्ति मानिन्छ।

हाम्रो घाँटीमा रहेका टन्सिल ग्रन्थी सुन्निनु नै टन्सिल बढ्नु हो। जब हाम्रो अनुचित खानपानका कारण टन्सिलले धेरै काम गर्नुपर्दा वा धेरै कीटाणुका कारण यसैमा कीटाणु हुर्किने गर्छ।

जसका कारण घाँटी दुखाईसँगै टन्सिल सुन्निने, बढ्ने, रातो हुने, खाना निल्न गाह्रो हुने हुन्छ। यसैलाई आम भाषामा टन्सिलाइटिस भनिन्छ।

टन्सिलका लक्षणहरू के कस्ता हुन्छन् ?
अचानक टन्सिल सुन्निने, रातो हुने र घाँटी दुख्ने हुन्छ। घाँटी खसखस हुने, केही चिज खाँदा वा निल्दा दुख्ने गर्छ। पानी वा थुक निल्दा पनि दुख्ने वा अप्ठेरो हुने हुन्छ। दुखाई गर्धनदेखि कानसम्म पनि हुने हुन्छ।

घाँटीको बाहिर लिम्फ नोड सुन्निने हुन्छ र छाम्दा डल्लो भेटिन्छ। ज्वरो पनि १०२ देखि १०४ सम्म हुन्छ, जरोको कारण टाउको पनि दुख्छ। भोक कम लाग्ने र थकान हुने हुन्छ। श्वास गन्हाउने र बढी प्यास लाग्ने हुन्छ। टन्सिलको सुन्नाई वा दुखाई लामो समय लगातार भइरहन्छ।

यो समस्या पटकपटक दोहोरिइरहने हुन्छ। सुख्खा खोकी लाग्छ। आवाज पनि परिवर्तन हुन्छ।

टन्सिल हुने कारणहरू के हुन् ?

यसलाई ब्याक्टेरिया वा भाइरसको संक्रमणका कारण हुन्छ भनि मानिए पनि यसको मुल कारण अनुचित खाना नै हो। अर्को प्रमुख कारण कब्जियत हो। कब्जियत गराउने रेशा छोक्राबोक्रा नभएका खाद्यानहरू जस्तै मैदाका परिकारको सेवनले पनि टन्सिल हुन्छ।

धेरै चिल्लो, मरमसलायुक्त वा तारेभुटेका खानाले पनि टन्सिल हुन्छ। पिरो र अमिलो खाद्यपदार्थ जस्तै तितौरा अचारहरूको प्रयोगले पनि टन्सिल हुने सम्भावना धेरै हुन्छ।

धेरै चिसो खानेकुराहरू फ्रिजबाट निकाल्ने बित्तिकै खानाले पनि टन्सिल हुने हुन्छ। जंकफुड, फास्टफुड आदिको सेवनले पनि टन्सिल हुने सम्भावना धेरै हुन्छ।

बन्द अवस्थामा राखिएको अचार, जुसहरु आदिको सेवनले पनि टन्सिलको सम्भावना धेरै हुन्छ। पाचन हुन गाह्रो हुने खानाहरू माछा, मासु, अण्डा, दुग्धपदार्थको बढी सेवनका साथै मद्यपान र ध्रुमपान गर्नाले पनि टन्सिल हुन्छ।

हरियो सागसब्जी र फलफूलको कमीले पनि टन्सिल हुन्छ। पानी कम पिउनाले पनि टन्सिल हुन्छ। बेलुकी ढिला सुत्ने र बिहान ढिला उठ्ने बानीले पनि टन्सिल हुन सक्छ। त्यसका साथै अत्यधिक धपेडी र तनावले पनि टन्सिल हुने हुन्छ।

यसका साथै मौसम परिवर्तन, सरसफाईको कमी र वातावरण प्रदूषणले पनि टन्सिलको समस्या बढ्ने गरेको छ।

टन्सिल हुँदा कस्तो खाना खाने ?
टन्सिलसम्बन्धी डाक्टर अनिता जिसीका अनुसार टन्सिलाइटिस हुनेवित्तिकै कडा तथा ठोस आहार बन्द गरी नरम तथा झोलिला सुप आहार खाने गर्नुपर्छ। जस्तैः तातो पानीमा मह राखेर दिनको तीन चार पटक आवश्यकता अनुसार पिउने गर्नुपर्छ।

फल रसमा मौसमको रस सबै भन्दा उत्तम हुन्छ। फल रस लिँदा तातो पानी राखेर मन तातो गरेर दिनको ३ देखि ४ पटक लिन सकिन्छ।
तरकारीका सुप सबैभन्दा उपयुक्त हुन्छ।

तरकारीमा उत्तम तरकारीहरू प्रयोग गर्ने जसमा पात भएका वर्गहरु रायो साग, चम्सुर, मेथी, सुप र फर्सीको मुन्टा उत्तम हुन् भने पात नभएका हरिया तरकारीमा परवल, हरियो सिमी, हरियो बोडी, हरियो प्याज, हरियो लसुन, बरेला, घिरौंला, पाटे घिरौंला, ब्रोकाउली, गाजर आदि हुन।

यी उत्तम तरकारी दुई तीन थरी मिसाउने र गाजर एउटा पनि सानो गरी काटेर पानीमा राख्ने, एक सिठ्ठी लगाउने गर्नुपर्छ। लेदोका लागि आँटाको पिठो १–२ चम्चा राख्ने गर्नुपर्छ। मसलामा थोरै लसुन, अदुवा, जिरा, नुन राख्न सकिन्छ। यसरी चिल्लोरहित सुप दिनको तीन–चार पटक लिन सकिन्छ।

घाँटी दुख्दा पातलो जाउलो लिन सकिन्छ। जाउलो बनाउँदा तीन भाग हरियो उत्तम तरकारी र एक भाग चामल राखेर खिचडी बनाउने, दिनको तीन पटक खान सकिन्छ।

शरीरलाई आवश्यक मनतातो पानी प्रशस्त पिउने गर्नुपर्छ। गर्मी मौसममा ३–४ लिटर र जाडो मौसममा करिब ३ लिटर पानी पिउने। प्रत्येक खानामा हरिया तरकारी प्रशस्त मात्रामा करिब खाना बराबर प्रयोग गर्नुपर्छ।

दैनिक मौसमअनुसारका फलफूलहरू सेवन गर्ने। अहिलेको चिसो मौसममा फलफूल तथा सलादवर्ग लिँदा हल्का तातो पानीमा डुबाएर वा उसिनेर लिने। टन्सिलाइटिस घाँटी दुखेको अवस्थामा भने फल सलादवर्ग नलिनु उत्तम हुन्छ। यदि लिनै परेमा उसिनेर वा पकाएर मात्र लिने।
घाँटी दुख्दा सुख्खा फलहरू छोकडा, किसमिस खानुपर्छ। यी फल खाँदा सफा पारेर पखालेर र तातो पानीमा भिजाएर लिने गर्नुपर्छ। अंग व्यायाम तथा हल्का योग व्यायाम कोठामै बसेर गर्न सकिन्छ। तर चर्को दुखाई र ज्वरो छ भने पूर्ण आराममै बस्ने, कम भए पछि नियमित व्यायाम गर्ने।

ठिक्क ७–८ घण्टा सुत्ने बानी बसाल्ने, बेलुकी ठिक समयमा र बिहान सबेरै घाम उदाउनु अगाडि उठ्ने गर्नुपर्छ। न्याना लुगा, निधार छोपिने टोपी तथा घाँटीसम्म न्यानो हुने लुगा लगाउने गर्नुपर्छ। विशेष गरी छाती, घाँटी, निधारमा चिसो हुन नदिने गर्दा पनि टन्सिलबाट बच्न सकिन्छ।