काठमाडौंमा जग्गा कित्ताकाट खुल्यो

जागृति खबर संवाददाता

८ मंसिर, काठमाडौं ।

काठमाडौ महानगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलेको छ । बुधबार साँझ भु उपयोग परिषद्ले महानगरपालिका भित्रको जग्गाको कित्ताकाट र अंशबण्डा खुलाउने निर्णय गरेको महानगरका प्रवक्ता नविन मानन्धरले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार सम्भवत हिजोको निर्णयको चिठी आज महानगरभित्रका मालपोत कार्यालयमा पठाइनेछ र निर्णय लागु हुनेछ । भूउपयोग कार्यान्वयन समितिको सिफारिसका आधारमा परिषद्ले कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

बुधबार महानगरका मेयर बालेन्द्र साहको अध्यक्षता भूउपयोग कार्यान्वयन समितिको बैठक बसेको थियो ।हरेक वडालाई आफ्नो क्षेत्रभित्रको जग्गा जमिन के कस्तो खालको हो भनेर अध्ययन गर्न लगाइएको र सो अध्ययनले महानगरभित्र कृषियोग्य जमिन नरहेको पाइएपछि कित्ताकाट खुलाइएको महानगरले जनाएको छ ।

गत कात्तिकमा वडाध्यक्षको संयोजकत्वमा भूउपयोग कार्यान्वयन उपसमिति गठन गरेको थियो । सोही उपसमितिले कृषि र गैरकृषि भुमिको बर्गीकरण गर्ने जिम्मेवारी पाएको थियो । सो समितिले कित्ताकाट खुलाउन सक्ने गरी सिफारिस गरेको थियो ।

कैलाली क्षेत्र नं १ प्रदेशसभा (२)बाट नागरिक उन्मुक्तिका चौधरी विजयी
कैलाली क्षेत्र नं १ को प्रदेशसभा (२) मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी विजयी हुनुभएको छ । उहाँ प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री डा रणबहादुर रावलभन्दा तीन हजार दुई सय ६४ मतान्तरले विजयी हुनुभएको हो ।

चौधरीले ११ हजार तीन सय १७ मत पाउनुभयो भने निकटतम् प्रतिद्वन्द्वी रावलले आठ हजार ५३ मत पाउनुभएको छ । यसअघि विसं २०७४ मा सम्पन्न भएको प्रेदशसभा निर्वाचनमा रावलले चौधरीलाई पराजित गर्नुभएको थियो । त्यसबेला चौधरी राष्ट्रिय जनता पार्टीबाट चुनाव लड्नुभएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले दिएको जानकारीअनुसार नेकपा (एमाले)का द्धारिकाप्रसाद न्यौपानेले पाँच हजार तीन सय २० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका डम्बरबहादुर थापाले एक हजार तीन सय ३८, स्वतन्त्र उम्मेदवार केशरबहादुर साउदले आठ सय ८८, स्वतन्त्र उम्मेदवार गणेश चौधरीले पाँच सय आठ र नेपाल लोकतान्त्रिक पार्टीका रामकृष्ण चौधरीले चार सय ४१ मत प्राप्त गर्नुभएको छ ।

यसअघि प्रदेशसभा (१) मा समेत नागरिक उन्मुक्तिका कैलाश चौधरी भारी मतान्तरका साथ विजयी हुनुभएको छ । क्षेत्र नं १ को प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको समेत जित सुनिश्चित भइसकेको छ ।