अपडेट : चितवन-२ मा रवि लामिछानेले लिए अग्रता यस्तो छ ताजा अपडेट

जागृति खबर संवाददाता

६ मंसिर, काठमाडौं ।

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन्।

मंगलबार २ः४५ बजेसम्मको मत परिणाम अनुसार, लामिछानेले चार हजार सात मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले तीन हजार ८७९ मत पाएका छन्।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ तेस्रो नम्बरमा छन्। उनले तीन हजार ४१० मत पाएका छन्।

शुरूआतदेखि नै एमालेका पोखरेलले अग्रता लिइरहेका थिए। कहिले दोस्रो र कहिले तेस्रोमा रहँदै आएका लामिछानले पहिलो पटक अग्रता बनाएका हुन्।

नुवाकोटको क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा गठबन्धनको अग्रता
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं २ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

जारी रहेको मतगणनाअन्तर्गत आज अपरान्हसम्म क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ सात हजार पाँच सय ७० मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले तीन हजार ९३ मत ल्याउनुभएको छ भने नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङले तीन हजार ६६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले आठ सय ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षेत्र नं १ को प्रदेश–२ तर्फ तीन हजार एक सय ९० मत गणना हुँदा एमालेका पूर्णलाल श्रेष्ठले एक हजार तीन सय १५ मत ल्याएर अग्रता कायमै राख्नुभएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महतले एक हजार दुई सय ६१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले तीन सय ३४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

निर्वाचन क्षेत्र नं २ र उक्त क्षेत्रको प्रदेश १ मा जारी रहेको मतगणनामा सत्तारूढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् ।

प्रतिनिधिसभातर्फ पाँच हजार छ सय ८२ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले दुई हजार नौ सय ९६ मत, नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले एक हजार चार सय एक मत र राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार सुमनविक्रम पाण्डेले नौ सय ८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ छ हजार सात सय २२ मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गानाले तीन हजार पाँच सय ५२ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । एमालेका उम्मेदवार केशवराज पाण्डेको एक हजार नौ सय १३ मत र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यको सात सय ६५ मत प्राप्त भएको छ । जारी रहेको मतगणना निरन्तर अघि बढाइने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् ।