डडेल्धुरामा कसको छ अग्रता ?

जागृति खबर संवाददाता

५ मंसिर, काठमाडौं ।

एउटा मात्रै प्रतिनिधिसभा सदस्य सिट रहेको डडेल्धुरामा केही बेर अघि बाट मतगणना जारी छ । अहिलेसम्मको नतिजामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अगाडि छन् । उनले ४८ मत पाएका छन् ।

त्यस्तै कांग्रेस बीपी (करुवा)ले ४२ मत पाएको छ भने स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत पाएका छन् । त्यस्तै राप्रपाले चार मत पाएको छ । मतगणना जारी छ ।

लुम्बिनी ४ मा लोसपालाई अग्रता
रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट दुई हजार पाँच सय ४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले नौ सय ९४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले सात सय २३, जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले चार सय ९३ र जनता समाजवादी पार्टी (जसपा)का ओमप्रकाश यादवले ३१ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी क्षेत्र नं ४ (१) मा प्रदेशसभा सदस्य पदका लोसपाका कन्हैया बनियाले एक हजार एक सय नौ, नेपाली कांग्रेसका अष्टभुजा पाठक चार सय ८७ र जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल चार सय ९५ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं ४ (२) मा नेपाली कांग्रेसका बसीउद्दीन खाले आठ सय ३३, जनमत पार्टीका अर्जुन जयसवाल चार सय ८८ र लोसपाका मोहनलाल यादवले चार सय ५० मत प्राप्त गर्नुभएको छ ।

भक्तपुर क्षेत्र नं १ मा राप्रपा, क्षेत्र नंं २ मा कांग्रेस अगाडि, मतगणना जारी
भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना हुँदा प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता कायमै राखेको हो ।
गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दूर्लभ थापाले एमालेका महेश बस्नेतलाई चार सय ३२ मतान्तरले अग्रता लिँदै चार हजार एक सय १३ मत पाउनुभको छ । एमाले तीन हजार छ सय ८१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले आठ सय ७०, राष्ट्रियता प्रजातन्त्र पार्टीले चार सय ५० र नेपाल मजदुर किसान पार्टीले चार सय ५० मत प्राप्त गरेको छ । मतगणना जारी छ । प्रदेशसभा र समानुपातिकको मतगणना पनि सुरु भएको छ ।

त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुआती अग्रता लिनुभएको छ । चाँगुनारायण नगरपालिका वडा नं १ को मतगणनाका क्रममा उहाँले अग्रता लिनुभएको हो । यस क्षेत्रमा एक हजार तीन सय ११ मतगणना हुँदा खड्काले तीन सय ५९, एमालेका नवराज गेलालले तीन सय ५६, नेमकिपाका प्रेम सुवालले दुई सय ९२ र माओवादी केन्द्रका सुनिल गोठेले दुई सय दुई मत प्राप्त गर्नुभएको छ ।