टाटा नेक्सनको ब्याट्री र मोटर फेर्दा लाग्ने शुल्क सार्वजनिक

जागृति खबर संवाददाता

काठमाडौं ।

नेपालमा सबैभन्दा धेरै संख्यामा विक्री भएर रेकर्ड राख्न सफल इलेक्ट्रीक भेहिकल टाटा नेक्सन ईभी हो । सुरक्षाको मामलामा ५ स्टार रेटिङ पाउन सफल यो एसयूभी नेपाली बाटोको लागि उपयुक्त ग्राउन्ड क्लियरेन्समा आएको कारण धेरै मानिसको रोजाईमा पर्न सफल भएको हो ।

अहिले नेक्सन ईभी प्रयोगकर्तालाई कम्पनीले दिएको वारेन्टी सकिएपछि ब्याट्री फेर्न कति खर्च लाग्छ भन्ने विषयले धेरै सताएको पाइन्छ । साथै, ईभीको लागि अर्को महत्वपूर्ण पाट्र्स भनेको मोटर हो । मोटर विग्रिएर फेर्न परेको खण्डमा कति खर्च लाग्छ भन्ने विषयमा पनि यदाकदा चर्चा भएको सुनिन्छ ।

यस्तोमा टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले ब्याट्री प्याक र मोटरको मूल्य सार्वजनिक गरिनसकेपनि भारतमा भने मूल्य प्रकाशित भएको छ । टाटाले नेपालमा विक्री गरिरहेको नेक्सन ईभीमा ३०.२ किलोवाट आवरको ब्याट्री दिएको छ ।
कम्पनीले ३०.२ किलोवाट आवर क्षमताको ब्याट्री फेर्नुपर्दा ७ लाख भारतीय रुपैयाँ पर्ने जनाएको छ । यसको नेपाली मुद्रामा परिवर्तनगर्दा ११ लाख २० हजार पर्ने देखिन्छ । यसमा लाग्ने भन्सार र आयातकर्ताको नाफाभने थप जोडिने छ ।

त्यस्तै नेक्सन ईभीको मोटरको मूल्य ४ लाख ४७ हजार ४८९ भारतीय रुपैया तोकिएको छ । यसको नेपाली मूद्रामा ७ लाख १५ हजार ९८२ रुपैया ५० पैसा हुन आउँछ । यसमा पनि भन्सार र आयातकर्ताको नाफा जोडिएको छैन ।
यसरी सीधा मूल्याङ्कन गर्दा नेक्सन ईभीको यदि ब्याट्री र मोटर दुबै फेर्नु पर्ने अवस्था आएको खण्डमा १८ लाख ३६ हजार नेपाली रुपैयाँ खर्च हुने देखिन्छ । अझ कर र ब्यवसायीको नाफा जोडदा मूल्य २१ देखि २४ लाखसम्म पर्नेछ ।

तर, विश्व बजारमा ईभीको ब्याट्री तथा मोटर उत्पादन संख्यामा भएको वृद्धि तथा धेरै कम्पनी बीच भएको प्रतिस्पर्धाको कारण आगामी वर्षहरुमा यसको मूल्यमा गिरावट आउने सम्भावना रहेको छ ।

नेपालको लागि टाटा मोटर्सको आधिकारी वितरक सिप्रदी ट्रेडिङले नेक्सन ईभीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिएको छ । त्यसैले तत्काल कसैले पनि ब्याट्री परिवर्तन गर्नु पर्ने छैन ।

ब्याट्री टेक्नलोजीमा नयाँ नयाँ प्रविधिको समेत विकास भएकाले ८ वर्षपछि ब्याट्री फेर्ने परेको अवस्थामा पनि यहि मूल्य तिर्नु नपर्ने अनुमान गर्न सकिन्छ । साथै, ईभी संचालनमा भएको पेट्रोलियम पदार्थको मूल्यमा वचत र नियमित मर्मत संभारमा हुने खर्चको वचतका कारण धेरै रकम बचाउन सकिन्छ । त्यसैगरी ईभीले वातावरण प्रदुषण हुनबाट जोगाएको विषयलाई पनि यहाँ भुल्नु हुँदैन ।