किन हुन्छ महिला र पुरुषमा बाँझोपन ? कसरी समाधान गर्ने ?

जागृति खबर संवाददाता

काठमाडौं ।

विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा करिब १ वर्षसम्मको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भन्निछ । लगभग ८५ प्रतिशत दम्पतीमा विवाहको पहिलो वर्षमै कोशिस गरेमा बच्चा हुने सफलता प्राप्त हुन्छ । यसमध्ये ७ प्रतिशत दम्पतीमा विवाहको दोस्रो वर्षमा बच्चा हुने सम्भावना रहने र बाँकी १५ प्रतिशतलाई बाँझोपनमा राख्न सकिने सिनियर गाइनोलोजिष्ट कन्सल्ट्यान्ट डा. अनिषा अग्रवाल बताउछिन् ।

उनका अनुसार यी हुन् बाँझोपनका कारण
महिलाको महिनावारी गडबड हुनु – महिलाको महिनावारी करिब २१ देखि ३५ दिनसम्म हुनुपर्छ । कति जनामा ४५ दिनसम्ममा पनि महिनावारी नहुने हुन्छ । यसमा डिम्ब निष्काशनमा गडबडी हुनु मुख्य कारक हो, जस्तैः पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम ।
डिम्बवाहिनी नली बन्द हुनु – जसमा क्षयरोग एउटा मुख्य कारक हो । यस्तो इन्फेक्सनले शुक्रकिटको गतिविधिमा पनि पनि आउँछ र भ्रुण बस्न गाह्रो हुन्छ ।

पाठेघरको संक्रमण – यौन सम्पर्कबाट सर्ने रोग, क्ल्यामाइदिया, गोनोरहियाजस्ता संक्रमणले गर्दा पाठेघर, डिम्बवाहिनी नलीका इन्फेक्सन तथा इन्फ्लामेसन हुन्छ अनि डिम्बवाहिनी नली बन्द हुन जान्छ । पाठेघरको ट्युमर – पोलिप र फाइब्रोइद जस्ता ट्युमरले बच्चा बस्न दिँदैन अनि बाँझोपन हुन जान्छ ।

महिलाको बढ्दो उमेर – ३५ वर्ष माथिका महिलामा डिम्ब कम हुँदै जान्छ, जसका कारण बाँझोपनको समस्या देखापर्न जान्छ ।

जन्मजात पाठेघरको विकास नहुनु गर्भपतन – पहिलो शिशु नजन्माई गर्भपतन गराउनु अथवा बारम्बार गर्भपतन गराउनु, जसले गर्दा पाठेघर पातलो हुन जान्छ र पाठेघरको भित्ता एक–अर्कासँग टाँसिन जान्छ ।
पुरुषको वीर्यमा हुने शुक्रकिटको मात्रा कम हुनु (ओलिगो स्पर्मिया), शुक्रकिट स्वस्थ नहुनु वा शुक्रकिट नै नहुनु (एजोस्परमिया) । पुरुषको विर्यनलीमा सिस्ट, ट्युमर भएमा । पुरुषको गुप्तांगको विकास राम्रोसँग नभएमा ।

पुरुषमा सन्तान नहुने कारण
– वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी ।– वीर्यमा शुक्रकीट उत्पादन नहुनु  ।– वीर्यमा संक्रमण ।– शुक्राणुको बनावटमा खराबी ।– हार्मोनमा गडबडी ।– पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु । – शुक्रनली वा अन्य भागमा केही अवरोध हुनु ।

महिलामा सन्तान नहुने कारण
– अण्डाशयमा अण्डा नबन्ने अथवा थुप्रै स–साना डिम्ब बने पनि नबढ्ने ।– पाठेघरको नली पूरै बन्द भए, पिप वा पानी जमे वा अण्डा पकडिने काम नभए ।– पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो हुँदा ।– हार्मोनमा गडबडी ।– पाठेघरको झिल्लीमा मासु बढ्नु ।– गर्भाशयको मुख ज्यादै सानो हुनु ।

बाँझोपनको उपचार
– उपयुक्त परामर्श र काउन्सिल्लिङ : निःसन्तान दम्पतिलाई डाक्टर स्वयंले परामर्श र काउन्सिलिङ प्रदान गर्नुपर्छ । आवश्यक परेको अवस्थामा निःसन्तान दम्पतीको घर–परिवारसहितलाई पनि काउन्सिल्लिङ गर्नुपर्ने हुन्छ ।

–औषधी पद्धतिद्वारा उपचार र मेडिकल थेरापी : महिलामा अन्डाको मात्रा बढाउन र ओभुलेसन गराउन clomipnene औषधी प्रयोग गरिन्छ जसले केही मात्रामा बाँझोपन कम गर्न सहयोग पुर्याउँछ ।

– आइयुआई र आइभिएफ प्रविधि : आइयुआई भन्नाले पुरुषको वीर्यलाई चालेर महिलाको पाठेघरमा सिधै राख्ने प्रक्रिया हो । यो करिब २० प्रतिशतमा सफल हुन्छ र ४–६ पटकसम्म गर्न सकिन्छ । आइभिएफ प्रविधिमा महिलाको डिम्बासयबाट डिम्बलाई अलग गरी शरीर बाहिर ल्याबमा पुरुषको शुक्रकिटसँग निषेचित (फर्टिलाइज) गरिन्छ । त्यसपछि तयार भएकोे भ्रुणलाई महिलाको पाठेघरमा प्रत्यारोपित गरिन्छ । यस प्रविधिको मद्दतबाट निषेचनको प्रक्रिया त्यो महिलामा पनि गर्न मिल्छ, जसको श्रीमानमा शुक्रिकटको मात्रा धेरै कम भएकोे पाइन्छ । यो साधारणतयाः ४०–५० प्रतिशत व्यक्तिमा सफल हुन्छ ।

– शल्यक्रिया, ल्याप्रोस्कोपिक : यदि बाँझोपनको कारक पाठेघर, डिम्बासयको ट्युमर भएमा त्यसलाई ल्याप्रोस्कोपिक प्रविधिद्वारा निकाल्न मिल्छ ।

– हिस्टेरोस्कोपिक : यस प्रविधिबाट पाठेघरभित्र रहेका साना ट्युमर हिस्टेरोस्कोपको माध्यमबाट (पाठेघरभित्र भिडियो पठाई शल्यक्रिया) बिना पेट खोली यौनांगको बाटोबाट निकालिन्छ ।

बाँझोपन समाधानको उपायहरु
– विवाह समयमा गर्ने–समयमा बच्चा जन्माउने– असुरक्षित गर्भपतन नगर्ने– इन्फेक्सनको समयमा नै उपचार गर्ने– गर्भनिरोधकका साधन प्रयोग गर्नुभन्दा पहिला स्त्रीरोग विशेषज्ञहरुसँग परामर्श लिने–समय समयमा पाठेघरको चेकजाँच गर्ने ।