अन्तमा टुकुचा खोज्ने अभियान सफल भयो, पृथ्वीनारायण शाहको दोश्रो अवतार बालेन शाह

जागृति खबर संवाददाता

६ असोज, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको क्षेत्रमा बनेका अधिकांस संरचना हटाएको छ । जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मका धेरैजसो संरचना हटाएको महानगरका मेयर बालेन्द्र साह (बालेन) को सचिवालयले जनाएको छ ।

बालेनको सचिवालय सदस्य सुनिल लम्सालका अनुसार टुकुचा खोला छोपिएको अन्तिम विन्दु फेला पार्न काठमाडौं प्लाजास्थित ३५ फिट गहिरो खाल्डो खन्नुपरेको थियो ।

महानगरले टुकुचा खोलामाथि बनेको ९ वटा साना पक्की घरहरुको बीचबाट नै टुकुचा उत्खनन गरेको छ । यस्तै ७ वटा साना टहराहरु भत्काएको लम्सालले बताए ।

‘आज हामीले छोपिएको टुकुचाको अधिकांश स्थानमा उत्खनन गरेका छौं । अब बढीमा ७० देखि १ सय मिटर क्षेत्रको बाँकी होला ।

यसमा पनि हामीले अदालतले अन्तरकालीन आदेश दिएको ३ वटा घर छोएका छैनौं । छोपिएको भागको अन्तिम विन्दुमा उत्खनन गर्न केही गाह्रो भएकोले आज भ्याएनौं, भोलि हटाउँछौं’, लम्सालले भने ।

नाला निकाल्न ठेक्का लगाइने

काठमाडौं महानगरपालिकाले टुकुचा छोपेको इँटाले बनेको नाला निकाल्न ठेक्का लगाउने तयारी गरेको छ । महानगरपालिकाले आइतबारसम्म छोपिएका करिब ५०० मिटरमध्ये ४ सय मिटर खाली गरिसकेको छ ।

टुकुचा छोपिएको स्थानका संरचना हटाए पनि पानी बगाउन प्रयोग भएको नाला भने महानगरले ५ स्थानबाहेक अन्यन्त्र चलाएको छैन । मेयर बालेनको सचिवालयका अनुसार मजबुत इँटाले बनेको नाला निकाल्न ठेक्का लगाउने तयारी भएको हो ।

‘इँटालाई सुरक्षित तरिकाले निकाल्नको लागि ठेक्का लगाउने महानगरको योजना रहेको छ । अब भोलिसम्म ३ वटा ठूला भवनबाहेक अन्य सबै स्थानको संरचना हटाउँछौं तर ईँट्टाको ढ्वाङ हटाउन महानगरले ठेक्का लगाउन सक्छ’ उनले भने ।

टुकुचामाथि बनेका संरचना हटाउन महानगरले ५८१ वटा कित्ता खाली गर्नुपर्ने जनाएको छ । महानगरका अनुसार तीमध्ये कित्ता नम्बर ३०३८, ३०३९ र कित्ता नम्बर ७ मा रहेको संरचनाबाहेक अन्य खाली गर्नेछ ।

‘यो ३ वटा कित्तामा बनेको संरचनाहरु पूर्णरुपमा हटाउनुपर्ने छ । टुकुचाको ठ्याक्कै माथि पर्ने रहेछ । अदालतले पनि आदेश दिएको भन्ने सुनेका छौं, तर आधिकारिक जानकारी छैन । तर तत्काल हामी भत्काउदैनौं । यो विषयमा थप छलफल गरेर मात्रै अगाडि बढ्छौं’, मेयर बालेनको सचिवालयले भन्यो ।

कमलादीमा पनि भेटियो टुकुचा

काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्ने अभियान निरन्तर जारी राखेको छ । शनिबार टुकुचा खोला खोज्न महानगरपालिकाको टोली डोजरसहित कमलादीस्थित लक्ष्मी बैंकको कार्यालय नजिक पुगेको थियो । त्यहाँ उत्खनन गरेर खोला पत्ता लगाइएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।

१२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकाल्दै काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तरतर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउन भनेको थियो ।

इतिहास र विभिन्न अध्ययनका प्रतिवेदनहरु अनुसार टकुचा काठमाडौं महानगरभित्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो ।

टुकुचामा माथिल्लो तटीय क्षेत्रमा ३ मिटरदेखि तलको क्षेत्रमा तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाब क्षेत्र छ । तर, खोलाका विभिन्न भागमा मापदण्ड विपरीत नक्सा मिचेर घर, टहरा र संरचनाहरु बनाइएका छन् ।

बिहीवार १ नम्बर वडाको जयनेपाल हलको कम्पाउण्डमा १५ फिट गहिरो खनेर उत्खनन गरेको टुलुचा शुक्रबार र शनिबार पनि निरन्तर चलेको महानगरले जनाएको छ ।

काठमाडौ महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार छोपिएको टुकुचा खोज्न महानगर प्रहरी र ईन्जिनियरको टिम निरन्तर लागिरहेको छ । उनले टुकुचा छोपिएको ४५० मिटर उत्खनन नसकिएसम्म निरन्तर काम हुने बताए ।