सुन्दर यातायातले ल्यायो अर्को इलेक्ट्रिक स्कुटर, कुलमानले गरे सार्वजनिक

जागृति खबर संवाददाता

५ असोज, काठमाडौं ।

सुन्दर यातायात अन्तर्गतको सुन्दर ट्रेडर्स प्रालिले फियाडो ब्रान्डको आर्चर मोडलको विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरे ।

सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालमा हाल विद्युत समेत प्रशस्तै मात्रामा भएको र विद्युतीय सवारी साधन समेत बढ्दै गएको अवस्थामा सबैले यसको प्रवद्र्धनमा लाग्नु पर्ने बताए ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले नेपाली बजारमा विभिन्न मोडलका विद्युतीय सवारी साधन र त्यसका लागि आवश्यक चार्जिङ स्टेसनको प्रवद्र्धनमा आफूहरु लागिरहेको बताउदै सबैले वातावरणमैत्री सवारी साधनको प्रवद्र्धनमा लाग्नु पर्ने बताए ।

आर्चर विद्युतीय स्कुटरमा १५ सय वाटको हब मोटर प्रयोग गरिएको छ । यसमा प्रयोग भएको ४८ भोल्टको लिथियम आयोन ब्याट्रीमार्फत सिंगल चार्जमा १२० किलोमिटर चलाउन सकिन्छ । ब्याट्रीको क्षमता १० किलोवाट आवर छ । यसलाई ३ घण्टा ४५ मिनेट भित्र फुल चार्ज गर्न सकिन्छ ।

यसले ३५०० आरपीएममा ५.४४ किलोवाटको पिक पावर दिन्छ भने २९ एनएम टर्क जेनेरेट गर्छ । यसलाई ६० किलोमिटर प्रतिघण्टाको गति सम्म चलाउन सकिन्छ ।

यसको ब्याट्रीमा ३ वर्षको वारेन्टी उपलब्ध छ । यो स्कुटरको मूल्य २ लाख ४४ हजार रुपैयाँ तोकिएको छ ।

यो स्कुटरमा ईबीएस अर्थात इलेक्ट्रिक ब्रेकिङ सिस्टम, डिजिटल डिस्प्ले स्पिडोमिटर, रिमोट लकिङ र एन्टी थेफ्ट बजर सिस्टम, हेभी ड्युटी फ्रेम बडी, ट्युबलेस टायर, अलोय ह्विल, डीआरएल सहितको एलईडी लाइट, युएसबी चार्जर, डिस्क ब्रेक आदि फिचर उपलब्ध छन् ।

यो स्कुटरलाई ड्राइभिङ मोड, टर्क बुस्टर मोड, रिभर्स मोड, क्रुज मोड र पार्किङ मोड गरी ५ पावर मोडमा चलाउन सकिन्छ ।

पोखरीका माछा बगेपछि किसान मारमा
गत शनिबार गएको बाढीले कैलालीमा ठूलो क्षति भएको छ । बाढीका कारण मानवीय क्षति, धनजनको क्षतिमात्र नभई कृषि तथा पशुपालनतर्फ समेत ठूलो क्षति पुगेको छ । कैलालीको भजनी नगरपालिकामा व्यावसायिकरूपमा माछापालन गरिरहेका किसान पोखरीका सबै माछा बगेपछि मारमा परेका छन् ।

भजनीमा करिब ४० किसानले व्यावसायिकरूपमा माछापालन गरेका छन् । सबै किसानका पोखरीका माछा बाढीमा बगेका छन् । भजनीका दीपक चौधरीले पोखरीमा १० हजार माछा पाल्नुभएको थियो । माछा हालेको छ महिना भइसकेको थियो । माछा आधा किलोदेखि एक किलोसम्मका थिए । “माछा तयार भइसकेकाले दशैँमा बेच्ने तयारी थियो”, उहाँले भन्नुभयो, “आम्दानी लिने बेलामा बाढीले सखाप पा¥यो, माछाका भुरामा लगानी, दानापानी, दैनिकको लगानी खेर गयो । यही व्यवसायले जीवन चलेको थियो, हामी त बर्बाद भयौँ ।”

चौधरीका माछासँगै बङ्गुरसमेत बगेका छन् । उहाँका बङ्गुरका १२ बच्चा र दुई माउ बाढीमा बगेका छन् । “कृषिकर्म गरेर जीवन चलाउन भने पनि बाँच्न सक्ने अवस्था रहेन”, उहाँले पीडा सुनाउनुभयो, “न धानखेती बाँकी रह्यो, पालेका माछा बगे, बङ्गुर पनि बगे, अब के गर्ने केही सोच्न सकिएको छैन ।”

बाढी आएपछि भजनी–८ थापापुरका पुरनकुमार चौधरीका पनि एक हजार छ सय माछा बगेका छन् । पुरनकुमारको पोखरीमा सात महिनाका माछा थिए । उहाँले पनि दशैँ–तिहारमा माछा बेच्ने तयारी गर्नुभएको थियो । “दशैँमा बेचेर आम्दानी लिने तयारी थियो, सबै बगेर गए”, उहाँले भन्नुभयो, “लाखौँको क्षति भयो ।”

भजनीकै सन्तोष शाहका पनि पाँच हजार माछा बगेका छन् । उहाँले रु ६० हजारका माछाका भुरामात्रै हाल्नुभएको थियो । उहाँको पोखरीमा आधा किलोसम्मका माछा भएका थिए । “माछा दशैँ–तिहारमा बजारमा पठाउने तयारीमा थियौँ, लगानी जति सबै भइसकेको थियो, उत्पादन बजार पठाउने र आम्दानी लिनेबेला ब्रजपात प¥यो”, सन्तोषले भन्नुभयो, “विपद्ले पनि किसानलाई बढी पीडा दिने रहेछ । न माछा रहे, फुलिरहेको धानखेती पनि रहेन, अब कसलाई के भन्नु ?”

भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसीले माछापालनतर्फ कति क्षति भयो भन्ने पूर्ण विवरण आउन समय लाग्ने बताउनुभयो । “अहिलेसम्म सात जना पोखरी किसानले पालिकामा निवेदन दिनुभएको छ”, उहाँले भन्नुभयो, “पालिकाभरि ४० भन्दा बढी पोखरीमा व्यावसायिकरूपमा माछापालनमा लाग्नुभएका किसान हुनुहुन्छ । सबैको क्षति भएको खबर छ”, उहाँले भन्नुभयो, “एउटै किसानले चार कठ्ठादेखि दुई बिघा जमिनसम्ममा माछा पाल्नुभएको छ ।”

बाढीले कैलालीमा ठूलै धनजनको क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याङ्कअनुसार जिल्लामा ११ हजार तीन सय ९४ घरधुरी प्रभावित छन् । बाढीले बढी क्षति भएको भजनीमा सात हजार ७६ घरपरिवार प्रभावित छन् । भजनीमा तीन हजार ३२ घरधुरी विस्थापित छन् । विस्थापित भएकाहरू हुलाकी सडकमा बसिरहेका छन् । त्यस्तै जोशीपुर गाउँपालिका बाढी तथा डुबानबाट एक हजार दुई सय ३६ परिवार विस्थापित भएका छन् । टीकापुर नगरपालिकामा सात सय ५५ घरपरिवार प्रभावित भएको तथ्याङ्क छ । बाढीले टीकापुर नगरपालिकाका ५, ६, ७, ८, ९ नं वडा सबैभन्दा बढी प्रभावित भएका पालिकाले जनाएको छ ।

जानकी गाउँपालिकामा दुई सय परिवार, कैलारीमा एक सय ७५, लम्कीमा एक सय ४५, गोदावरीमा एक, धनगढीमा १४ घरपरिवार विस्थापित भएका छन् । बाढीबाट भएको क्षतिको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले निरीक्षण गर्नुभएको छ । मन्त्रीले टीकापुर, भजनी, जोशीपुरलगायतका क्षेत्रमा निरीक्षण गर्नुभएको हो । वडा नं ६ लगायतका ठाउँमा राहत वितरणसमेत गर्नुभएको छ ।