घटायो कुखुराको मासुको मूल्य, प्रतिकेजी कति पुग्यो ?

जागृति खबर संवाददाता

५ असोज, काठमाडौं ।

लगातार बढिरहेको कुखुराको मासुको मूल्य सोह श्राद्ध सुरु भएपछि घटेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले सोह श्राद्धले मासुको खपतमा कमी आएपछि मूल्य घटाएको बताएको छ । तीज सुरु भएपछि कुखुराको मासुको खपत बढेको भन्दै संघले १० दिनमा ३ पटक मूल्यवृद्धि गरेको थियो।

साउन महिनामा जिउँदो कुखुरा प्रतिकेजी २ सय ५० रुपैयाँ थियो। भदौ महिना सुरु भएपछि प्रतिकेजी १० रुपैयाँको दरले मूल्य बढेर जिउँदो कुखुरा प्रतिकेजी २ सय ७० रुपैयाँ पुगेको थियो । यतिबेला भने मासुको खपतमा कमी आएपछि जिउँदो कुखुराको मूल्य प्रतिकेजी १० रुपैयाँले घटेको संघका सचिव देव गिरीले बताए। ‘सोह्र श्राद्ध अब केही समय मासुको खपतमा कमी आउने भएकोले मूल्य थप घट्दै जानेछ,’उनले भने ।

‘हाल जिउँदो कुखुराको कोल्डस्टोर मूल्य प्रतिकेजी २ सय ६० रुपैयाँ कायम भएको छ । अबदेखि उपभोक्ताले कुखुराको मासु प्रतिकेजी ३ सय ३० रुपैयाँ देखि ३ सय ४० रुपैयाँमा खरिद गर्न सक्नेछन्,’उनले भने ।

हाल बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ। यस अघि स्वदेशी उत्पादन कम भएकोले उपत्यकाबाहिर र भारतबाट जिउँदो कुखुरा आउने गरेको थियो । यतिबेला उपत्यकामा कुखुराको उत्पादन धेरै छ। बजारको माग भन्दा उत्पादन धेरै भएकोले मूल्य अझै घट्ने संघले जनाएको छ । यति बेला सोह्र श्राद्धले खपत घटाउदा दैनिक प्रतिकेजी ४ लाख भन्दा कम खपत हुँदै आइरहेको संघको भनाई छ । पछिल्लो समय कुखुराको मासुको खपत दैनिक पाँच लाख केजी भन्दा बढी हुँदै आएको थियो। उपत्यकामा मात्र दैनिक साढे ३ लाख केजीभन्दा धेरै खपत हुने संघले जनाएको छ ।

दशैंलाई मासुको मूल्य आफूखुसी तोक्दै व्यवसायी
काठमाडौंका मासु व्यवसायीहरुले दशैंमा मासुको मूल्य तोक्ने तयारी गरेका छन् । सरकारले मूल्यबारे छलफलमा यो वर्ष पनि नबोलाए पछि खुल्ला बजारमा किसानले तोक्ने मूल्यको आधारमा जिउँदो र तयारी मासुको मूल्य तोक्ने तयारी गरेको नेपाल माछा मासु व्यवसायी संघले जनाएको छ ।

संघका अध्यक्ष रमेश खड्काकाअनुसार पछिल्लो तीन वर्षदेखि सरकारले व्यवसायी संघसँग मूल्य तोक्नेबारे कुनै छलफल नै गरेको छैन । ‘सरकारले छलफल गर्ला र मूल्य तोक्ने भनेर बसेको यो वर्ष पनि कुनै छलफलका लागि बोलावट भएन,’ अध्यक्ष खड्गीले भने, ‘अब बजारमा मूल्य खुल्ला हुने भयो । मासुको मूल्य जति पनि हुनसक्छ ।’

संघकाअनुसार यो वर्ष खसीको तयारी मासुको मूल्य न्यूनतम् १३ सय रुपैयाँदेखि सुरु हुने देखिएको छ । सरकारले बजारको आपूर्ति हेरेर मूल्यको सीमा नतोक्दा विगतका वर्षहरुमा अधिकमा १३ सय रुपैयाँ हुने खसीको मासुको मूल्य यो वर्ष पनि सोही आधारमा न्यूनतम मूल्य निर्धारण हुने अध्यक्ष खड्गीले बताए ।

अहिले नै केही व्यवसायीहरुले १ हजार ४ सयदेखि १ हजार ४५० रुपैयाँ किलोसम्म खसीको मासुको मूल्य तोकेको भन्दै अध्यक्ष खड्गीले खसीको मासुको मूल्यमा यो वर्ष उतार चढाव हुने बताए । ‘बजारमा जिउँदो खसीको मूल्य तराईको खसीको ७ सय रुपैयाँ छ, लोकल खसीको त्यो भन्दा कम छ । तर तयारी मासुको मूल्य दोब्बर हारहारी हुने देखियो,’ खड्गीले भने, ‘अब सहुलियतमा ल्याउने खसीले मात्रै मूल्यलाई केही नियन्त्रण गर्न सक्छ ।’

संघका अनुसार यो वर्ष बंगुर र बफ मासुको मूल्य प्रतिकिलो ५ सय रुपैयाँमा स्थिर छ । विगत चार वर्षदेखि यी मासुको मूल्यमा उतार चढाव आएको छैन ।
यो दशैंमा कुखुराको मासुको मूल्य भने पहिले भन्दा धेरै हुने संघले जनाएको छ । अहिले प्रतिकिलो ४५० रुपयाँसम्ममा कुखुराको मासु बिक्री भएको र यो मूल्य गतवर्ष भन्दा किलोमा एक सय रुपैयाँले महँगो भएको खड्गीले बताए ।

तर, दशैंको मुखैमा खुद्रा बजारको खपत घट्ने भएकाले मूल्य अझै ओरालो लाग्ने संघको अनुमान छ । काठमाडौंमा अहिले संघका दर्ता भएका एक हजार हाराहारी मासु पसल छन् । दशैंमा काठमाडौंमा ८० हजारदेखि एक लाख गोटा खसी–बोका चाहिने संघको अनुमान छ । अहिले दैनिक एक हजार खसी–बोका, ४ सय बंगुर र ८ सय गोटा बफ बजारमा मासुका लागि खपत हुने गरेको छ । यस्तै २ लाख किलो भन्दा बढी कुखुराको मासु उपत्यकामा खपत हुन्छ ।