छिमेकीसँग अवैध सम्बन्ध राखेको थाहा पाएपछि श्रीमान‍्को हत्या, घटनाबारे थप अनुसन्धान जारि

जागृति खबर संवाददाता

३१ भदौ, रूपन्देही ।

परपुरूषसँग अवैध सम्बन्ध गाँसेर रूपन्देहीको तिलोत्तमा महिलाले आफ्ना श्रीमानको हत्या गरेकी छन् । तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारूले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार थारूले मंगलवार राति आफ्नो घरमै सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी हुन् । थारूको छिमेकी ५२ वर्षका फूलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमानले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो ।

जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

थप समाचार : हत्या कसुर विवादले रोकियो विधेयक, विवादका कारण अघि नबढ्ने निश्चित
हत्या मुद्दालाई मानव अधिकारको गम्भीर उल्लङ्घन सूचीमा राख्ने वा नराख्ने विषयमा दलीय सहमति नभएपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक अघि नबढ्ने निश्चित भएको छ । सङ्घीय संसद्को कार्यकालको अन्तिम समयमा सरकारले ल्याएको विधेयक विवादका कारण अघि नबढ्ने निश्चित भएको हो ।

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पनि सातै प्रदेशमा छलफल गरेर विधेयकको मस्यौदा तयार पारे पनि विधायिकी चरणमा प्रवेश गर्न सकेको थिएन । शान्ति सम्झौताको १६ वर्ष भए पनि सङ्क्रमणकालीन न्यायको कानुनी संरचनामै अहिलेसम्म विवाद छ ।

सरकारले असार ३१ गते नै विधेयक दर्ता गरे पनि विवादका कारण प्रतिनिधि सभामा पेस गर्न नै एक महिना लागेको थियो । सर्वपक्षीय परामर्शपछि विधेयकको प्रक्रिया अघि बढाइए पनि दलीय अडानका कारण सहमति नभएको हो । सहमति नभएपछि समिति बैठक नै अनिश्चितकालका लागि स्थगित भएको छ । द्वन्द्वकालमा भएका निःशस्त्र व्यक्ति हत्याका घटनालाई मानव अधिकारको गम्भीर उल्लङ्घनको सूचीमा राख्ने वा नराख्ने विवादले विधेयकको सम्पूर्ण प्रक्रिया नै रोकिएको हो । शान्ति सम्झौताको १६ वर्ष बितिसक्दा पनि सङ्क्रमणकालीन न्यायको कानुनी संरचनामै अहिलेसम्म विवाद ।