लखनऊको होटलमा आगलागीः २ जनाको मृत्यु

जागृति खबर संवाददाता

२० भदौ, लखनऊ।

उत्तर प्रदेशको राजधानी लखनऊको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घटनास्थलमा उद्धार जारी छ।

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका साथ उद्धारमा लाग्न तथा घाइतेहरूलाई प्राथमिकताका साथ उपचार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन।

जिल्ला प्रशासनका अधिकारीहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूलाई घटनास्थलमा पुगेका तथा त्यहाँ राहत एवम् उद्धारका काममा समन्वय गरिरहेका मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

दोलखाको भिरकोट माझिबस्तीमा सुक्खा पहिरो
दोलखाको तामाकोशी–१ भिरकोट माझिबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझिबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट आज दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिनुभयो ।

आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको स्थानीयहरूले बताएका छन् । मध्यदिउँसो पहिरो खसेका कारण कुनै पनि मानवीय क्षति नभए पनि वस्तीसम्म पहिरो आएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।

पहिरो खस्ने क्रम नरोकिएको र घरहरू जोखिममा रहेकाले प्रभावितहरूलाई सुरक्षित स्थानमा बसोबासको लागि प्रवन्ध मिलाउने काम भइरहेको उहाँले बताउनुभयो । सुक्खा पहिरोका कारण सिङ्गो गाउँ नै जोखिममा परेपछि प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको टोलिले पहिरोको स्थलगत अवलोकन गरेको छ ।