दुखद खबर डुङ्गा डुब्दा दश जना बेपत्ता

जागृति खबर संवाददाता

२० भदौ, नयाँदिल्ली।

पूर्वी भारतको विहार राज्यको एउटा नदीमा आइतबार साँझ डुङ्गा डुब्दा दश जना बेपत्ता भएका छन् भने ४० जना पौडेर सुरक्षित स्थानमा पुग्न सफल भएकमा सरकारी अधिकारीले बताएका छन्।

हराइरहेकाहरूको उद्धार तथा खोजमा राज्यको प्रकोप व्यवस्थापन कार्यालयका अधिकारी क्रियाशील रहेका पटनास्थित जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ। दुर्घटनाग्रस्त डुङ्गामा पटनाको दाउदपुर क्षेत्रका श्रमिक सवार थिए। उनीहरू कामबाट फर्केका थिए। राष्ट्रिय प्रकोप उद्धार बलका गोताखोर पनि खोजीमा परिचालन भएका छन्।

भारतका ग्रामीण क्षेत्रमा परम्परागतरूपमा निर्माण गरिएका डुङ्गा यातायातका प्रमुख साधन हुन्। विशेष गरी वर्षायाममा भारतमा डुङ्गा दुर्घटना हुने गरेका छन्।

दोलखाको भिरकोट माझिबस्तीमा सुक्खा पहिरो
दोलखाको तामाकोशी–१ भिरकोट माझिबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझिबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट आज दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिनुभयो ।

आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको स्थानीयहरूले बताएका छन् । मध्यदिउँसो पहिरो खसेका कारण कुनै पनि मानवीय क्षति नभए पनि वस्तीसम्म पहिरो आएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।

पहिरो खस्ने क्रम नरोकिएको र घरहरू जोखिममा रहेकाले प्रभावितहरूलाई सुरक्षित स्थानमा बसोबासको लागि प्रवन्ध मिलाउने काम भइरहेको उहाँले बताउनुभयो । सुक्खा पहिरोका कारण सिङ्गो गाउँ नै जोखिममा परेपछि प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको टोलिले पहिरोको स्थलगत अवलोकन गरेको छ ।