कुन अवस्थामा घरजग्गा रोक्का तथा फुकुवा हुन्छ ?

जागृति खबर संवाददाता

काठमाडौं ।

देशभर मालपोत कार्यालयबाट सेवा प्रवाहमध्ये ६० प्रतिशत रोक्का तथा फुकुवाको काम हुने गरेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागले ६० प्रतिशत भीड रोक्का र फुकुवाको हुने भएकाले भीड घटाउनका लागि विभिन्न कार्य अगाडि बढाएको छ ।

विभागले रोक्का तथा फुकुवाको कार्य गर्न मालपोत कार्यालय धाउनु नपर्ने गरी भू-सेवा केन्द्र सञ्चालन २०७६ को पहिलो संशोधन गरेको छ । उक्त संशोधन गरिएको निर्देशिकामा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाले ऋण लिन धितो बन्धक राख्ने प्रक्रियाको लागि मात्रै भू-सेवा केन्द्र सञ्चालन पाउने गरी निर्देशिका संशोधन गरिएको छ ।

तर, संशोधन गरिए पनि हालसम्म तीब्र गतिमा भने कार्य हुन सकेको छैन । त्यस्तै, सेवा प्रवाहमा करिब ६० प्रतिशत रोक्का तथा फुकुवा हुने गरेकोमा कुन अवस्थामा घरजग्गा रोक्का राख्न सकिन्छ । यस विषयमा विस्तृत जानकारी दिनका लागि यो सामग्री तयार पारेका छौं ।

सरकारले रोक्काको कामलाई सहज बनाउनका लागि जग्गा प्रशासन कार्यविधिमा समेटेर देशभरका मालपोत कार्यालयले विभिन्न अवस्थाहरूमा घर जग्गा रोक्का राख्नु सकिने उल्लेख गरेको छ ।

(क) जेथाजमानी लेखाई लिएकोमा सो जेथा जमानी लेखाई दिने अड्डाले फलानाले यो यति वापत जमानी लेखाई दिएको यो यति जेथा भन्ने सबै कुरा खोली सो जेथा कसैलाई बेचविखन गर्न वा अरु कुनै प्रकारले अरुलाई दिन नपाउने गरी रोक्का राखि दिनका लागि रजिष्ट्रेशन गर्ने, दाखिल खारेज गर्ने, मालपोत तिरो कर असूल गर्ने र त्यस वापत लिलाम बिक्री गर्ने समेत अड्डालाई रोक्का पूर्जी लेखी पठाउनु पर्ने र सो रोक्का पूर्जी आएमा सो जेथा जमानी जुन कुरा वापत लिएको हो सो कुरा पूरा वा असूल भै सकेकोले रोक्का रहेको जेथा फुकुवा गरिदिनु भन्ने फुकुवा पूर्जि भै नआएसम्म सो लेखिएको जेथा कसैलाई रजिष्ट्रेशन दाखिल खारेज, नामसारी हुन नसक्ने गरी रोक्का राखी राख्नुपर्छ ।

(ख) कुनै घर जग्गामा विवाद परि वा अरु कुनै कारणले रोक्का राख्न आवश्यक देखिएमा मालपोत कार्यालयले त्यस्तो घर जग्गा रोक्का राख्न सक्छ । यसरी रोक्का राख्दा कार्यालयले रोक्का राख्नुपर्ने कारण वा औचित्य स्पष्ट उल्लेख गरी रोक्का राख्नुपर्छ ।

(ग) कुनै अड्डा, अदालत वा सरकारी कार्यालयबाट कुनै जग्गा रोक्का राख्न वा त्यस्तो रोक्का राखिएको घर जग्गा फुकुवा गर्न लेखि आएमा मालपोत कार्यालयले लेखि आए बमोजिम त्यस्तो घर जग्गा रोक्का वा फुकुवा गर्नुपर्छ ।

(घ) मुलुकी ऐन जमानी गर्नेको महलको ४ नं. ले जमानी लेखाई लिने अड्डाले यो काम वापत यो व्यक्तिको यति जेथा जमानी दिएको भनि रजिष्ट्रेशन गर्ने, नामसारी गर्ने, दाखिल खारेज गर्ने वा मालपोत तिरो र बाँकीमा जग्गा लिलाम गर्ने कार्यालयमा रोक्का राख्नलाई लेख्नुपर्ने र कार्यालयले रजिष्ट्रेशन नामसारी, दाखिल खारेज हुन नसक्ने गरी रोक्का राखी दिनुपर्ने हुन्छ ।

(ङ) कुनै बैंक, वित्तीय संस्था वा स्थानिय निकायले आफ्नो आर्थिक कारोवारको सिलसिलामा कुनै घर जग्गा रोक्का राख्न वा त्यसरी रोक्का राखिएको घर जग्गा फुकुवा गर्न लेखि पठाएमा मालपोत कार्यालयले तोकिए बमोजिम त्यस्तो घर, जग्गा रोक्का राख्नु वा फुकुवा गर्नु पर्नेछ । त्यसरी रोक्का राख्दा वा फुकुवा गर्दा बैंक वा वित्तीय संस्थाको हकमा मालपोत कार्यालयले तोकिए बमोजिमको दस्तुर लिनेछ ।

यस्तो छ रोक्का किताब तयार गर्ने तरिका

रोक्का किताब तयार गर्दा विभिन्न विषयमा ध्यान दिनुपर्छ । त्यसमा पनि सरकारले विभिन्न मापदण्ड तोकेको छ । निर्देशिकाअनुसार रोक्का किताब तयार गर्नका लागि प्रत्येक नगरपालिका वा गाँउ विकास समितिको छु्ट्टाछट्टै रोक्का किताब तयार गर्नुपर्ने हुन्छ ।

त्यसपछि जग्गा धनीको नामबाट वर्णानुक्रम अनुसार लगत राख्ने, रोक्कावालाको ठेगानाको आधारमा नभै जग्गा रहेको गाँउ विकास समिति वा नगरपालिकाको आधारमा राख्ने, नयाँ रोक्का किताब तयार गर्दा पुरानो किताबबाट नयाँमा सारी सक्नासाथ पुरानो किताबमा सारेको व्यहोरा जनाउने, एक अक्षरको सार्ने काम समाप्त भएपछि दोश्रो अक्षर शुरु गर्ने, एक अक्षरको सार्ने काम समाप्त भएपछि अर्काे अक्षर शुरु गर्दा बीचमा केही पाना खाली राखि शुरु गर्ने र पुरानो किताबबाट सार्दा फुकुवा भैसकेपछिको लगत भने सार्नु पर्दैन ।

तर, बेजिल्लाको रोक्का लगत बनाउँदा प्रदेशअनुसार रोक्का किताब तयार गरी प्रत्येक अञ्चलको वर्णानुक्रम अनुसारले किताब तयार गर्नुपर्छ ।

त्यसमा रोक्का किताबमा अस्पष्ट भएको व्यहोरा स्पष्ट गर्दा तीनपुस्ते नभएको, जग्गाको विवरण नखुलेको, रोक्का राख्ने कार्यालय नखुलेको आदि अवस्थामा रोक्का राख्ने कार्यालय बुझ्नुपर्छ ।

साथै, पत्रको मिति नभएकोमा पत्रबाट प.सं. र च.नं. मिति जनाउने, रोक्का लगत नबुझिने अवस्थाको भएमा कुन मितिदेखिको नबुझिने अवस्था रहेको हो, रोक्का पत्रबाट एकीन गर्न त्यस समयको रोक्कापत्रहरू खोजी गरी रोक्का किताव भिडाई प्रस्ट गर्ने, लगत च्यात्तिएको र व्यहोरा स्पष्ट नभएकोमा रोक्का पत्र हेरी प्रष्ट गर्नुपर्नेछ ।

रोक्का राख्ने कार्यालय परिवर्तन भएमा, गाभिएमा वा हाल नरहेमा कुन कार्यालय खारेज भै हाल सो काम कसले गरेको छ नाम परिवर्तन भएकोमा हाल के नाम रहेको छ, गाभिएकोमा कुन कार्यालयमा गाभिएको छ सोको व्यहोरा कैफियत महलमा जनाई राख्ने र रोक्कापत्र फेला नपरेमा सम्बन्धित कार्यालयबाट प्रतिलिपि मगाई राख्नुपर्छ ।

त्यस्तै, रोक्का किताबको सुरु पानामा कुन अक्षरको नाम कति देखि कति पेजसम्म छ खुलाई राख्ने, गोश्वारा लगतमा रोक्का रहेका व्यक्तिको जग्गाको विवरण पठाउन सम्बन्धित कार्यालयलाई पत्राचार गरी विवरण प्राप्त भएपछि गा.वि.स वा अञ्चलअनुसार कुन ठाउँमा कायम गर्नुपर्ने हो कायम गरी गोश्वारा लगतमा कट्टा गरिदिने, साविकबाट हालमा कायम गर्दा रोक्का कितावको सि.नं. मा हालको सि.नं.को साथै साविक सि.नं. पनि उल्लेख गर्ने र रुजु गरी सकेपछि पूरानो किताब सुरक्षित राखी रुजु समाप्त भएको मितिदेखि नयाँ रोक्का किताब सञ्चालन गर्नेछ ।

त्यसैगरी जग्गा रोक्का राख्दा रोक्कापत्र प्राप्त भएपछि रोक्कापत्रमा रहेको विवरणसँग मोठ भिडाउने र भिडेमा ठेली र जग्गाधनी समेत उल्लेख गरी भिडाई दिने र नभिडेमा सोही व्यहोराको जानकारी रोक्का राख्न लेखी पठाउने कार्यालयलाई जानकारी गराउनुपर्छ ।

एउटा कार्यालयले रोक्का राखी सकेको जग्गा पुन अर्को कार्यालयबाट रोक्का राख्न लेखि आएमा दोहोरो रोक्का गर्न नमिल्ने हुँदा रोक्काको पत्र कार्यालयमा प्राप्त भएपछि सो जग्गा रोक्का रहे नरहेको भिडाउनुपर्छ ।

रोक्का भिडाउँदा पहिले नै रोक्का रहेको देखिएमा रोक्का राख्न लेखि पठाउने कार्यालयलाई रोक्काको जानकारी दिनुपर्छ । तर, त्यसरी जानकारी दिँदा पनि रोक्का राख्न लेखि पठाएमा वा पुनः रोक्का गर्नु भनि अदालतको आदेश भएकोमा, सर्वस्व सहित सम्पत्ति रोक्काको आदेश भएकोमा नेपाल सरकारले ऋण दिई धितो लिई ऋण दिने निर्णय गरेकोमा सो को व्यहोरा जनाई दोहोरो रोक्का राखिदिनु पर्छ ।

रोक्का भिडाउनु पर्ने अवस्थाहरूः

(१) लिखत पारित, दाखिला खारेज र नामसारी(२) जग्गा दर्ता,(३) रोक्का राख्दा(४) श्रेस्ताको नक्कल दिँदा(५) नाम, थर, वडा, कित्ता आदि संशोधन गर्दा(६) जग्गा प्राप्त गर्दा(७) मालपोत बाँकीमा लिलाम गर्दा(८) लिलाम डाक सकार गरेकोमा दाखिल खारेज गर्दा(९) जग्गा सम्बन्धी अन्य कारोवार ।

त्यसैगरी, शेषपछिको वकसपत्र पारित गर्न र रोक्कावाला कै नाममा जग्गा दर्ता हुने भए रोक्का रहेपनि दर्ता गर्नहुन्छ । यसरी दर्ता गर्दा दर्ता भएपछि हालको कित्ता नं. समेत खुलाई पुनः रोक्का राख्नु पर्छ ।

कसरी फुकुवा गर्ने

कुनै पनि घरजग्गा रोक्का राखेपछि के-कति कारणले रोक्का गरेको हो कारण पत्ता लगाई नियमअनुसार बुझाउनुपर्ने लगत वा हिसाब फरफारक गरेपछि मात्र सम्पत्ति फुकुवा गर्न सकिन्छ । त्यसका लागि रोक्का राखिएको व्यक्तिको सहमति चाहिन्छ ।

सहमति भइसकेपछि जुन कार्यालयले रोक्का राखेको हो सोही कार्यालयबाट फुकुवा गरीदिनु भनी लेखि नआएसम्म रोक्का रहेको घर जग्गा फुकुवा गरिदिनु हुँदैन ।

तर, रोक्का राख्ने कार्यालय खारेज भएकोमा सो भन्दा माथिल्लो निकायबाट लेखि आ बमोजिम र गाभिएकोमा गाभिएको कार्यालयबाट फुकुवा भई आएपछि फुकुवा गरिदिनु पर्छ ।

तर, कार्यालयमा श्रेस्ता कायम भई नसकेको जग्गा कुनै अड्डा, अदालत वा कार्यालयबाट रोक्का राख्न लेखि आएतापनि रोक्का राख्न मिल्दैन । यस्तोमा रोक्का राख्न नमिलेको कारण खोली सम्बन्धित कार्यालयलाई जानकारी दिनुपर्छ ।

त्यसैगरी, रोक्का तथा फुकुवा गरेपछि प्रत्येक महिना स्वजिल्ला वा वेजिल्लाको कति रोक्कापत्र प्राप्त भए तीमध्ये कति रोक्का जनाई कति पत्रको रोक्का गर्न नसकिने जनाउ गयो, कतिमा फुकुवा जनाइयो, प्रत्येक महिनाको १ गते फाँटवालाले कार्यालय प्रमुख समक्ष प्रतिवेदन पेश गर्नुपर्छ । उक्त पशे भइसकेपछि पनि यदि कुनै व्यक्तिले कारण देखाई रोक्का गर्न आएको छ कि भनेर घरजग्गा फुकुवाको जानकारी लिइरहनुपर्छ ।

क्लिकमाण्डू