बढ्यो पेट्रोल र डिजेलको मूल्य !

जागृति खबर संवाददाता

१७ भदौ, काठमाडौं ।

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मुल्य बढेको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ बढेर आएको छ ।

यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँ बढेर आएको छ भने हवाई इन्धन ८ रुपैयाँले बढेको आएको छ । यस्तै, यस पटक खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १२० रुपैयाँ घटेको छ । यससँगै, निगमलाई १५ दिनमा ४८ करोड २५ लाख रुपैयाँ घाटा हुने भएको छ । सबै पेट्रोलियम पदार्थको मूल्य बढेको स्थितिमा एलपीजी ग्यासको घट्दा करिब २ करोड रुपैयाँ बराबरको घाटा जोगिएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा मूल्यको भाउ उकालो लागेको छ । यसअघि, प्रतिब्यारेल कच्चा तेलको मूल्य ९४ डलरसम्म आइपुगेको थियो । जुन, अहिले बढेर १०० डलर प्रतिब्यारेल भन्दा माथि पुगेको छ । यससँगै, आईओसीले पठाएको नयाँ मूल्यसूची बढेर आएको हो ।

यसअघि, आईओसीले तीन पटकसम्म मूल्य घटाएर पठाएको थियो । तर, अब फेरि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेपछि भाउ बढाएर पठाएको हो । आईओसीले निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । आईओसीले अंग्रेजी तारिख १ र १५ मा मूल्यसूची पठाउने गरेको छ । यस्तै, निगमले आईओसीलाई ८ र २३ तारिखमा भुक्तानी गर्दै आएको छ ।

पूर्वमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ मा एकल सिफारिस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक प्र्रतिनिधिसभा क्षेत्र नं १ को उम्मेदवारमा सिफारिस गरिएको छ ।

पार्टीको क्षेत्रीय कार्यसमिति बैठकले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि बस्नेतलाई मात्र सिफारिस गरेको हो । बैठकले प्रतिनिधिसभाको समानुपातिक तर्फबाट भने सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ ।

सोही क्षेत्रको प्रदेशसभा ‘क’ मा भने प्रत्यक्षतर्फ भोला बोहोरा, विष्णुबहादुर खत्री, साङ्बो शेर्पा, गङ्गाबहादुर श्रेष्ठ, मषिना खड्का भण्डारी, दोर्जे लामा, देविबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, वेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फबाट भने हरिशरण श्रेष्ठ र लीलाकुमारी नेपालको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा १ को प्रदेश ‘ख’ का लागि पनि नौ जनाको नाम सिफारिस गरेको छ । पार्टीले देवेन्द्र खड्का, राजेन्द्रकुमार श्रेष्ठ, जङ्गबहादुर लामा, केदार क्षेत्री, श्रवणकुमार जिसी, सगुन श्रेष्ठ, रुपकाजी लामा, रामकुमार तामाङ र शर्मिलाकुमारी खड्काको नाम सिफारिस गरेको छ । सो क्षेत्रको समानुपातिकतर्फ भने दुर्गाराज गिरी, रामकुमार थापा, उमेश प्रधान, रामबहादुर लामा, ङिमा जाङ्बो शेर्पा, चित्रकुमार मिजार, मञ्जु नेपाल भण्डारी र रोशनी श्रेष्ठको नाम सिफारिस गरेको छ ।