मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु !

जागृति खबर संवाददाता

२ भदौ, काबुल ।

अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । साँझको प्रार्थनाको समयमा भएको उक्त विस्फोटमा अन्य केही घाइते भएका छन् । विस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्राप्त विवरण जनाइएको छ । विस्फोटमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।

विस्फोटमा ३५ जनाको हताहति भएको हुन सक्ने तालिबान अधिकारीले रोयटर्सलाई बताएका छन् । एक वर्षअघि तालिबानले अफगानिस्तानको सत्तापलट गरे पछि पनि हत्या हिंसाका घटनामा कमी आएको छैन् । केही साताअघि पनि मस्जिदमा विस्फोट हुँदा सर्वसाधारणको मृत्यु भएको थियो ।

ताइवानी आकाशमा गस्ती गर्दै चिनियाँ विमान

ताइवानी आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेकाे छ । अर्को अमेरिकी प्रतिनिधिमन्डलको स्वशासित टापुको भ्रमण गरिहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको छ ।

पिपुल्स लिबरेसन आर्मी एयर फोर्स (पीएलएएएफ)का १७ वटा विमानमध्ये चार सुखोई एसयू–३० लडाकू विमान, तीन सेनयाङ जे–११ जेट फाइटर, दुई शेनयाङ जे–१६ जेट लडाकु विमान र एउटा सान्सी वाई–८ छन् ।

यसअघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेइ भ्रमणको विरोधमा चीनले ताइवानको रक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । उनको भ्रमणको चीनले निन्दा गरेको थियो । ताइवानलाई चीनले आफ्नो अभिन्न अंश मान्छ भने ताइपेइले आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश ठान्छ ।