लमजुङको घनपोखरामा जीप दुर्घटना अपडेट , १० जना गम्भीर घाईते !

जागृति खबर संवाददाता

१ भदौ, लमजुङ ।

लमजुङको मस्याङ्दी गाउँपालिका-२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन् ।

बेसीसहरदेखि घनपाेखरा जाँदै गरेकाे ग १ ज ७४१७ नम्बरको जीप घनपाेखराकाे भाचेस्थित सडकबाट बीस मिटर तल खसेकाे थियाे ।

दुर्घटनामा परि १५ जना घाईते भएका छन् । घाईते मध्ये १० जना गम्भीर घाईते भएका छन । घाइतेको प्रहरी र स्थानीय मिलेर उद्दार गरेकाे स्थानीय राम गुरूङले बताए । घाईतेलाई ४ वटा जीपमा उद्दार गरि लमजुङ जिल्ला अस्पताल ल्याउदै गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । घाईते सबै स्थानीय रहेपनि नामथर खुल्न सकेकाे छैन ।

नदीले बगाएर बेपत्ता व्यक्ति फेला परेनन्
तनहुँको देवघाट गाउँपालिका–५ स्थित वेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर बेपत्ता भएका दुई जना अझै फेला पर्न सकेका छैनन् ।

साउन २७ गते शुक्रबार र ३१ गते मङ्गलबार कालीगण्डकी नदीले बगाएर बेपत्ता भएका दुई जना फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत शुक्रबार बेपत्ता भएका दोलखाको वैतेश्वर गाउँपालिका–३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्का र मङ्गलबार बेपत्ता भएका रसियन नागरिक २९ वर्षीय पिटर रुजिन फेला नपरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । दुवै जनाको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो ।

पाँच जना साथीसहित नेपाल घुम्न आएका रसियन नागरिक रुजिन देवघाटमा स्नान गर्ने क्रममा बेपत्ता भएका हुन् । “दुवै जनाको खोजीकार्य जारी राखेका छौँ, फेला पार्न सकेका छैनौँ”, प्रहरी नायब उपरीक्षक खड्काले भन्नुभयो ।

प्रहरीको सम्पूर्ण ध्यान निर्वाचनमा : प्रहरी महानिरीक्षक सिंह
नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धीरज प्रताप सिंहले प्रहरीको सम्पूर्ण ध्यान आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित रहेको बताउनुभएको छ ।
राजविराजमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सफलतापूर्वक स्थानीय निर्वाचन सम्पन्न गरिसकेपछि प्रहरीको ध्यान आगामी निर्वाचन विश्वसनीय, भयरहित गराउनेतर्फ केन्द्रित रहेको बताउनुभयो । आसन्न निर्वाचनमा नेपाल सरकारले दिएको जिम्मेवारीलाई निष्पक्ष, भयरहित तवरमा नागरिकको मताधिकारको प्रयोग गर्न दिने वातावरणा बनाउनु नै समस्त प्रहरीको एकमात्र उद्देश्य रहेको प्रहरी महानिरीक्षक सिंहले बताउनुभयो ।

उहाँले नागरिक समाज, सञ्चारकर्मीलाई समाजका विषयवस्तु प्रहरीभन्दा बढी जानकारी हुने भएकाले सहयोगको अपेक्षासमेत गर्नुभयो । सार्वजनिक पद धारण गरेका व्यक्तिबाट पदीय आचारणविपरीत भएका कार्य, समाजमा भइरहेका विकृति, विसङ्गतिलाई पत्रकारले उजागर गर्ने मात्र नभई सुधार गर्ने, सच्याउने ढङ्गले पथप्रदर्शक बन्न पनि उहाँले आग्रह गर्नुभयो । सबै क्षेत्रका कुरीतिलाई न्यूनीकरण गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।

अन्य प्रदेशको तुलनामा तस्करी, कालाबजारी, महिला हिंसाका घटना बढी रहेकाले प्रहरीलाई पत्रकार र नागरिक समाजको साथ सहयोग चाहिने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्ना प्रहरी तस्करीमा संलग्न नभएको बताउनुभयो । गलत बाटोमा प्रहरी संलग्न भएको पाइएमा जानकारी दिन अनुरोध गर्दै उहाँले कसूरअनुसार विभागीय कारबाही गरेर जानकारी सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।