उत्तर कोरियाद्वारा दुई वटा क्रुज मिसाइल प्रहार

जागृति खबर संवाददाता

१ भदौ, प्योङयाङ ।

उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको सियोलको रक्षा मन्त्रालयले जनाएको छ । ‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै एएफपीलाई जनाएको छ । अमेरिका र दक्षिण कोरियाका सैन्य अधिकारीहरूले उत्तरको मिसाइल प्रहारबारे विस्तृत विवरणहरूको विश्लेषण गरिरहेका पनि अधिकारीहरूले जनाएका छन् ।

योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले जनवरीदेखि क्रुज मिसाइल परीक्षण गरेको थिएन । पछिल्लो पटक प्योङयाङले जुलाई १० मा हतियार परीक्षण गरेको थियो । त्यतिबेला उसले धेरै रकेट लन्चरहरू फायर गरेका थिए ।

उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक पूर्ण दायरामा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहारसहित जनवरीदेखि नै प्रतिबन्धित हतियार परीक्षण गरेको थियो ।

विश्वबाटै एक्लिएको प्योङयाङले आफ्नो सातौं आणविक परीक्षणबारे योजना गरिरहेको बताइएको छ । यस हप्ताको सुरुमा, दक्षिण कोरियाली र अमेरिकी सैन्य सेनाहरूले उनीहरूको वार्षिक संयुक्त सैन्य अभ्यासअघि नै प्रारम्भिक अभ्यास सुरु गरेका थिए । एजेन्सी

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन
मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो ।

मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलङ्घन गरी दण्डजरिवाना असूल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट रु ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट रु चार करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५०५ कार, जीप र भ्यान चालकबाट रु तीन करोड २० लाख राजस्व असूल गरिएको छ ।

यसैगरी १५ हजार ५४० ट्याक्टरका चालकबाट रु ९६ लाख, १३ हजार ४२० टेम्पु चालकबाट रु ९० लाख ६४ हजार र ११ हजार ६७७ बसका चालकबाट रु ८९ लाख २० हजार दण्डजरिवाना गरी राजस्व दाखिला गरिएको कार्यालयले जनाएको छ ।