अब हामि पनि माओवादी भयौ : बाबुराम र वामदेव !

जागृति खबर संवाददाता

१ भाद्र, काठमाडौं ।

हँसिया हथौडाबाट चुनाव लडेपछिका बाबुराम र वामदेवः देख्दा छुट्टै, सारमा माओवादी

बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) का नेताहरूको भनाइमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा जाने सहमति दुईदलीय हैसियतमा हुने हो ।

यसलाई उनीहरूले अघिल्लो चुनावमा एमालेसँग सहकार्य गरेको तत्कालीन तमलोपाका नेता हृदयेश त्रिपाठीको मोडलको रूपमा व्याख्या गरेका छन् । अर्थात्, उनीहरू माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया–हथौडा चुनाव चिह्नबाट चुनावमा गए पनि अप्रत्यक्ष रूपमा अर्को दलको हैसियतमा गतिविधि गर्न सक्छन् । त्यसरी गतिविधि गर्नका लागि कस्तो खालको सहमति हुन्छ भन्ने कुराले पनि अर्थ राख्छ ।

निर्वाचन आयोगका एक अधिकारीका अनुसार उनीहरू एउटै चुनाव चिह्न लिएर चुनावमा जान सक्छन् तर भोलि संसदीय दलले कारबाही गर्न पाउने वा नपाउने भन्ने विषय कस्तो सहमति हुन्छ भन्नेमा पनि भर पर्छ । ती अधिकारीका अनुसार दुई दलमध्ये धेरै सिट ल्याउने पार्टीले संसदीय दलको नेता चयन गर्छ । यद्यपि, अर्को पक्षलाई कानुनी रूपमा संसदीय दलको ह्वीप भने लाग्नेछ । त्यसका लागि चुनावी प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जानुअघि भएको सहमतिका आधारमा पनि चल्नुपर्ने हुन्छ ।

नेपाल समाजवादी पार्टी (नेसपा) का नेता विश्वदीप पाण्डेका अनुसार माओवादी केन्द्रको चुनाव चिह्न लिने सहमति एमाले र हृदयेश त्रिपाठी मोडल हो । शिलापत्रसँग कुरा गर्दै पाण्डेले भने, ‘दुई दलको हैसियतमा साझा चिह्न र साझा घोषणापत्र हुने गरी जाने हो, यसलाई पहिला एमाले र ह्रदयेश त्रिपाठी मोडल भन्न सकिन्छ ।’ त्यस आधारमा पनि बाबुराम नेतृत्वको पार्टी सत्ता गठबन्धनमा छैटौँ दलकै हैसियतमा रहन्छ ।

चुनाव चिह्न साझा लिने सहमति भए पनि सिट बाँडफाँट कसरी हुँदैछ ? अहिलेसम्म प्रस्ट खाका आइसकेको छैन । पहिला जितेका सिट जसले जितेको हो, उसैले लिने सहमति छ ।

तर, त्यसबाहेक थप सिटका लागि भने समझदारी भइसकेको छैन । त्यसो हुँदा बाबुराम भट्टराईको गोरखा २ र महेन्द्र राय यादवको सर्लाही २ को सिट भने उनीहरूले पाउने पक्का भएको छ । त्योबाहेकको सिट कहाँको लिने वा कति लिने भन्ने टुंगो नलागेको पनि पाण्डेले बताए ।

आयोगमा साझा चुनाव चिह्नको विषयमा दुई दलबीच सहमति गरेर दल दर्ता गर्न जाँदा समानुपातिकको सिट कति लिने भन्ने पनि दलहरूबीच सहमति भएको हुनुपर्नेछ । दलहरूबीच हुने उक्त आन्तरिक सहमतिबारे आयोग जानकार नहुने भएपछि बाबुरामको पार्टीलाई समानुपातिक सिट कति दिने भन्नेचाहिँ प्रचण्डले दल दर्ताअघि नै भन्नुपर्ने हुन्छ ।

यद्यपि, यो बाबुरामको माओवादी फर्काइको रूपमा पनि व्याख्या भइरहेको छ । समाजवादी केन्द्र बनाउन निकै पहल गरेका बाबुराम माओवादीको नाम परिवर्तन गरेमा एकता गर्न सकिने पनि बताइरहेका थिए । यसबीचमा बाबुराम र प्रचण्डबीच धेरै पटक छलफल भएका थिए । उपराष्ट्रपति नन्दबहादुर पुनलाई साक्षी राखेर बाबुरामले प्रचण्डसँग पटकपटक छलफल गरेका थिए । बाबुराम माओवादीसँग मिल्ने बुझेकै कारण डम्बर खतिवडा, मदन राईसहितका बाबुरामका हस्तीहरूले नेपाल समाजवादी पार्टी बनाउँदा साथ दिएनन् ।

त्यस्तै कम्युनिस्ट पार्टीहरूको एकताका लागि भन्दै नेकपा एकता राष्ट्रिय अभियान नै गठन गरेका वामदेव गौतम पनि माओवादीकै चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । गौतमको पनि कानुनी हैसियत पनि हृदयेश त्रिपाठीकै जस्तो हुनेछ ।

यसरी चुनावी मैदानमा होमिएका भट्टराई र गौतम विजयी भएर आए भने उनीहरूको दलको छुट्टै अस्तित्व कस्तो हुन्छ भन्ने पनि प्रश्न खडा हुने देखिन्छ । माओवादीको चुनाव चिह्न लिएर एउटै घोषणापत्रका आधारमा निर्वाचन प्रतिस्पर्धा गरेपछि स्वाभाविक रूपमा उक्त दलको ह्वीप मान्नुपर्ने अवस्था पनि आउन सक्छ ।

त्यसकारण भट्टराई र गौतमले आफूहरू माओवादीबाट चुनावमा उम्मेदवार बने पनि छुट्टै र स्वतन्त्र हुन्छौँ भनिरहेका छन् । तर, त्यस्तो हुनसक्ने कानुनी आधार भने तय भइनसक्दासम्म सारमा भने उनीहरू माओवादी केन्द्रकै सांसद हुने अवस्था आउन सक्ने देखिन्छ ।