साउदीमा ९३ नेपालीलाई ‘एक्जिट भिसा’, ६० दिनभित्र देश छाडनुपर्ने

जागृति खबर संवाददाता

३१ साउन, काठमाडौं ।

साउदीअरब। खाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन्।

रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्राप्त गरेका छन।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका,नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दुतावासले साउदी अरब सम्बन्धित निकायमा अनुरोध गरेको थियो। जसअनुसार साउदी सरकारले ९३ जना नेपालीलाई सो भिषा उपलब्ध गराएर नेपाल फर्कने बातावरण तयार गरिदिएको छ।

एक्जिट भिसा लागेका नेपालीहरूले दूतावासबाट भिसा लिएर जान र ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्नसमेत रियादस्थित नेपाली दूतावासले निर्देशन दिएको छ।

कराँते खेलाडी सुमन लनर्सको ब्रान्ड एम्बासडर
लनर्स इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले कराँते खेलमा ठूलै सफलता हासिल गर्नुभएका अन्तर्राष्ट्रिय स्वर्णपदक विजेता खेलाडी सुमन तिमल्सिनालाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ ।

लनर्सका प्रबन्ध निर्देशक सुदीप छत्कुली र कराँते खेलाडी सुमनबीच आज यहाँ आयोजित एक कार्यक्रममा एक वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गरेको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार लनर्सले अबको एक वर्षसम्म सुमनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा हवाई टिकटको प्रायोजन गर्नेछ ।

कराँते खेलाडी सुमनले बङ्गलादेशमा भएको तेस्रो कन्टिनेन्टल एसियाली कराँतेमा स्वर्ण, श्रीलङ्कामा भएको प्रथम अन्तर्राष्ट्रिय कराँतेमा स्वर्ण, भारतमा भएको छैटौँ एसियाली गोजुरियो कराँतेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो कराँतेमा कास्य पदक हात पार्नुभएको थियो ।

यसैगरी उहाँले जर्मनीमा भएको चेम्निज ओपन कराँतेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्टस् इ–कातामा स्वर्णपदक जित्नुभएको थियो । कार्यक्रममा लनर्सका प्रबन्ध निर्देशक छत्कुलीले अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको गरिमा अभिवृद्धि गर्ने खेलाडीलाई ब्राण्ड एम्बासडर बनाउन पाउँदा खुसी लागेको उल्लेख गर्दै सुमनको लगशीलता र देशलाई दिलाएको उपलब्धिका कारण पहिलोपटकलाई एक वर्षका लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेको बताउनुभयो ।

यसैगरी कराँते खेलाडी सुमनले खेलकुद र खेलाडीको महत्व बुझेर ब्राण्ड एम्बासडर बनाएकामा खुसी व्यक्त गर्नुभयो । पुतलीसडकमा सात वर्षअघि स्थापना भएको लनर्सले अस्ट्रेलिया, क्यानाडा र युरोपमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि परामर्शदाता र अन्य आवश्यक कार्यमा सहयोग गर्दै आएको छ ।