नेपाली कामदारलाई यूकेमा फलफूल टिप्ने रोजगारी, कति हुन्छ कमाइ ?

जागृति खबर संवाददाता

काठमाडौं ।

नेपालमा खेतीपाती र पर्यटकहरूलाई पथप्रदर्शकको रूपमा पनि काम गर्दै आएका बालकुमार खत्री हिजोआज यूकेमा स्ट्राबेरी टिपिरहेका छन्। प्रत्येक वसन्तयाममा हजारौँ कामदारहरू यूकेमा उत्पादन हुने नरम फलफूल टिप्न पुग्ने गरेका छन्। तर यो पटक भने यसअघि भन्दा टाढाटाढाबाट पनि कामदारहरू पुगेका छन्। ब्रेक्जिटभन्दा अघि पोल्यान्ड, रुमेनिया र बल्गेरियाबाट धेरैजसो कामदारहरू आउने गरेका थिए।

तर अहिले यूकेका उत्पादकहरूले नेपालीहरूलाई पनि कामदारका रूपमा भर्ती गरेका छन्। नेपाल जस्तै इन्डोनेशिया, मङ्गोलिया, ताजिकिस्तान, काजकस्तान र किर्गिस्तानबाट पनि कामदारहरू यूके पुगेका छन्।

सामान्य अङ्ग्रेजी बोल्ने २६ वर्षीय खत्री त्यहाँ पुगेको धेरै भएको छैन। तर उनी पुगेपछि फार्मका मालिकहरू खुसी भएका छन्। गर्मीयाममा पर्याप्त कामदार पाउन यूकेमा निकै चुनौतीपूर्ण छ। यो पटक नरम फलफूल टिप्ने मौसम उत्कर्षमा पुग्नुअघि फलफूल खेती गर्नेहरूलाई पर्याप्त कामदार नपाइने चिन्ता थियो।

कामदारहरूको अभाव
यूकेका चर्चित सुपरमार्केटहरू वेटरोज, टेस्को, मार्क्स र स्पेन्सर लगायतमा आपूर्ति गर्दै आएको रेटफर्डनजिकै अवस्थित हार्विल फार्मकी जेनी टास्करसँग आफ्नो फार्ममा धेरै देशबाट आएकाहरूले काम गर्ने गरेको अनुभव छ। यो पटक उक्त फार्ममा विभिन्न नौ देशबाट कामदारहरू आएका छन्। तीमध्ये ३५ जना नेपाली छन्।

भर्ती भएका नयाँ कामदारहरू कामका लागि तयार हुँदै गर्दा चुनौती भने बाँकी नै रहेको टास्कर बताउँछिन्। “हामीले धेरै प्रकारका तालिम गराउँछौँ। त्यस कारण केही ढिलो भइरहेको छ,” उनले भनिन्। “यसका लागि दुवै पक्षमा धैर्य आवश्यक छ।” तर अरू फार्म सञ्चालकजस्तै उनलाई पनि फल कुहिनुअघि नै टिप्न सकिँदैन कि भन्ने चिन्ता छ। यूकेमा नरम प्रकारका फलफूल उत्पादनमा निरन्तर वृद्धि भइरहेको त्यहाँको उद्योगसम्बन्धी निकायले जनाएको छ। तर सँगसँगै फलफूल खेर जाने दर पनि बढेको छ।

बेरीहरू कहिले टिप्ने बेला हुन्छ भनेर अनुमान लगाउन निकै कठिन छ तर जब फल पाक्छ टिप्नका लागि पर्खिने समय हुँदैन। उक्त निकायले गरेको सर्वेक्षणअनुसार कामदारको अभावका कारण फलहरू पाकेर नाश हुने दर पछिल्ला दुई वर्षमा दोबर भएको छ। ब्रिटिश बेरी ग्रोअर्सका अनुसार गत वर्ग ७६ करोड पाउन्डको फलफूल उत्पादन हुँदा करिब तीन करोड ३० लाख बराबरको उत्पादन खेर गएको थियो।

ढिलो हुने चिन्ता
हार्विलमा काम गरिरहेका खत्रीसहितका कामदारहरूका लागि वाईफाईसहित आवासको सुविधा उपलब्ध गराइएको छ। ब्रेक्जिटपछि युरोपेली युनियनमा आबद्ध देशहरूबाट आउने कामदारको सङ्ख्या घटेपछि यूकेका किसानहरू कामदार खोज्न टाढाटाढासम्म पुग्ने गरेका छन्। नेपालीसहित विभिन्न देशका कामदारहरू अहिले फलफूल टिप्ने काम गर्न यूके पुगेका छन्ग त वर्ष कामका लागि धेरै युक्रेनीहरू पुगेका थिए। तर यो वर्ष युद्धका कारण १८ देखि ६० वर्षका युक्रेनीहरूलाई घरमै बसेर युद्ध लड्न त्यहाँको सरकारले आह्वान गरेको छ।

यूकेको संसदीय समितिले युक्रेन युद्ध, बेक्जिट र कोभिडका कारण यूकेको खाद्यक्षेत्रमा उत्पन्न चरम कामदार अभाव सम्बोधन गर्न कुनै कदम चाल्न नसकिए खाद्यसङ्कट हुन सक्ने चेतावनी दिएको छ।

ब्रिटिश बेरी ग्रोअर्सका अध्यक्ष निक मार्स्टनका अनुसार त्यसपछि पनि मौसमी कामदारहरूका भिसा दिने प्रक्रिया रोकिएको छ। टाढाबाट आउने कामदारहरू समयमै पुग्नेमा उनी चिन्तित देखिन्छन्। “यसले किसानहरूलाई निराश बनाएको छ। अहिले नै सङ्कटको बिन्दु आइसकेको छैन तर मलाई त्यो आउने चिन्ता छ,” उनले भने।

जान चाहने धेरै
मौसमी कामदारहरू भर्तीका लागि अनुमतिप्राप्त चार कम्पनीमध्येको एक फ्रुटफुल जब्सका जस्टिन इमरीले यूके जान चाहने कामदारहरूको सङ्ख्या धेरै भएको बताए। यो कम्पनीले ३७ देशबाट कामदारहरू भर्ती गर्ने गरेको छ। उनीहरूका अनुसार भिसा आवेदनका लागि लाग्ने शुल्क र प्रशासनिक प्रक्रिया पूरा गर्न समय लाग्ने भएका कारण टाढाका देशहरूबाट कामदार भर्ती गर्ने प्रक्रिया सहज छैन।

यो पटक युक्रेनी शरणार्थीहरूको आगमनका कारण भिसा प्रक्रिया ढिलो भएको छ। तर पनि आफूहरूले समयमै कामदार ल्याइरहेको उनले बताए। पूर्वी इङ्ग्ल्यान्डमा २४ वटा फार्मको सञ्जाल सञ्चालन गरिरहेका टिम च्याम्बर्सले इन्डोनेशिया, भियतनाम र फिलिपिन्सजस्ता देशबाट कामदार नल्याउन भर्तीमा संलग्न कम्पनीहरूलाई आफूले भनेको बताए। “मैले उनीहरूको जातीय वा त्यस्तै कुनै कारण भनेको होइन। तर मानिसहरूलाई पूरै नयाँ लाग्ने देश, संस्कृति र जीवनशैली हुने फार्ममा ल्यायो भने त्यसले अर्को समस्या निम्त्याउन सक्छ,” उनले भने।

उनले पहिलो पटक भर्ती हुने कामदार २५ प्रतिशतसम्म कम उत्पादनशील हुने बताए। उनको फार्ममा अझै पनि मध्य र पूर्वी युरोपबाट आउने कामदारहरूको ठूलो सङ्ख्या छ। उनले द्वन्द्व हुन सक्ने ठानेर रुसी र युक्रेनी कामदारहरूलाई सँगै नराखेको जानकारी दिए।

कति हुन्छ कमाइ
तर कामदारहरू लिने प्रतिस्पर्धा उच्च भएका कारण उनले नयाँ ठाउँहरूबाट पनि कामदार लिनेबारे सोचिरहेका छन्। कामदार अभावकै कारण उनले गत वर्ष १२ प्रतिशत र्‍यास्पबेरी टिप्न सकेनन्। उनले सरकारलाई पर्याप्त भिसा जारी नगरेको आरोप लगाउँदै आएका छन्। यो वर्ष सरकारले ३०,००० भिसाको सीमा तोकेको थियो। उक्त सीमामा आवश्यक परे थप १०,००० सम्म कामदार थप गर्न सकिन्थ्यो।

तर आगामी वर्षबाट यस्तो भिसाको सङ्ख्या घटाउँदै लगिने र ब्रिटिश कामदारहरूलाई नै प्राथमिकता दिने तथा प्रविधिको प्रयोग बढाइने नीति छ। यस्ता कामदारहरूका लागि एक घण्टाको करिब १५०० नेपाली रुपैयाँ बराबर न्यूनतम ज्याला तोकिएको छ। तर कामदारहरूको ज्याला बढाउनुपर्ने माग पनि बढिरहेको छ। यूकेको होम अफिसले सरकारले यूकेका किसानहरूले पर्याप्त जनशक्ति पाउने कुराको सुनिश्चितताका लागि सहयोग गर्न सरकार तयार रहेको जनाएको छ। उक्त कार्यालयका एक प्रवक्ताले मौसमी कामदारहरू सन् २०२४ सम्म लिइने र त्यसपछि यूकेकै कामदारलाई यो क्षेत्रमा आकर्षित गर्ने सरकारको नीति रहेको बताएका छन्। बिबिसी