मलेशिया एयरलाइनबाट नेपाल फर्केका एक नेपाली कामदार विमानस्थल मा पक्राउ

जागृति खबर संवाददाता

२६ साउन, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सुनसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार बिहान करिब ११ बजे मलेशिया एयरलाइन MH170 मार्फत काठमाडौं आएका एक नेपाली कामदारबाट सुन बरामद गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।

रुपन्देहीका २८ वर्षीय सरोज कार्की पक्राउ परेका हुन्।

विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा उनले ल्याएको मिक्सरको भित्री भागमा फल्स बटम बनाइ करिब १०० ग्राम सुनलाई बाहिर कालो टेपले बेरेर लुकाइ ल्याएको फेला परेको भट्टराईले बताए।

भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था छ।

त्यसरी राजस्व तिर्दा १०० ग्राम सुनको रु.१ लाख ५६५ राजस्व तिर्नुपर्ने हुन्थ्यो। तर यात्रुले भन्सार राजस्व छल्ने वद्नियतका साथ भन्सार कार्यालयमा घोषणा नगरी सुन लुकाई छिपाई ल्याएको पाइएको भट्टराईले बताए।

उनकाअनुसार भन्सार राजस्व छलेर सुन आयात गर्दा भन्सार कार्यालयले प्रचलित कानून बमोजिम त्यस्तो सुन जफत हुने र सुनको प्रचलित बजार मूल्य बराबर जरिवाना र कैद सजायसमेत हुन्छ।

हुण्डीमार्फत कारोबार गरेको अभियोगमा मुद्दा दायर
राजस्व अनुसन्धान विभागले गैरकानूनीरुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुङ्गाना र फणिन्द्रप्रसाद ढुङ्गाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजङ्ग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुङ्गानाविरुद्ध आज मुद्दा दायर गरिएको हो ।

केही समय पहिले प्रहरीले नवराज ढुङ्गानालाई स्रोत नखुलेको रु ६९ लाख ९९ हजार बराबरको रकम पक्राउ गरेको थियो । उहाँले पैसाको स्रोत खुलाउन सक्नुभएको थिएन । सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरी अवैध हुण्डी कारोबार भएको निष्कर्ष निकालेको थियो । विभागले बिगोबमोजिमको रकम जफत गरी दोषीमाथि कानुनअनुसार कारवाही गरिपाउँ भन्दै मुद्दा दायर गरेको हो ।