मलेसियामा नेपालीकै छुरा प्रहारबाट पाँचथरका युवाले ज्यान गुमाए…

जागृति खबर संवाददाता

२८ जेठ, काठमाडौं ।

वैदेशिक रोजगारीका क्रममा मलेसियाको क्लाङ मेरुमा रहेका पाँचथरका एकजना युवाको हत्या भएको छ। नेपाली युवाले नै प्रहार गरेको छुराबाट कुमार तामाङको मृत्यु भएको हो। तामाङले मेरुमा रहेको टप्स ग्लोब कम्पनी अगाडि क्यान्टिन सञ्चालन गर्दै आएका थिए। मदिरा पिएका ४ जनाको समूहका नेपालीहरुले नै उनलाई छुरा प्रहार गरेका मलेसियाबाट पत्रकार तिलोचन गौतमले जानकारी दिए।

उक्त घटनामा संलग्न नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते अवस्थामा रहेका तामाङको उपचारका क्रममा क्लाङ अस्पतालमा मृत्यु भएको छ। उनको शव अहिले त्यही अस्पतालमा राखिएको छ। घटनामा संलग्न भएर पक्राउ परेका नेपालीको पहिचान प्रहरीले खुलाएको छैन। नेपालखबर

यो पनि…पोर्चुगलको समुन्द्र तटमा भेटियो नेपालीको शव
करिब दुइ महिनाअघि देखि पोर्चुगलमा हराइरहेका नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवालको शव पोर्चुगलको समुन्द्रमा भेटिएको छ। उनी अप्रिल १५ देखि सम्पर्क बिहिन थिए । प्रहरीले बिहिबारमात्रै शवको पहिचान गरी एनआरएनए पोर्चुगललाइ खबर गरेको थियो । सिलवालको शव अहिले अस्पतालमा छ । सिलवाल रोजगारीको सिलसिलामा करिब ७ बर्ष अघि पोर्चुगल गएका थिए।

सिलवाल परिवारको सम्पर्कमा नआएपछि परिवारकै आग्रहमा एनआरएनए पोर्चुगलले पोर्चुगलभरि खोजीकार्य सुरु गरेको थियो । सिलवाल हराएको झण्डै दुई महिनापछि ९ जुनका दिन पोर्चुगल प्रहरीले एनआरएनए पोर्चुगल अध्यक्ष रविन अधिकारीलाई शव भेटिएको बारे जानकारी गराएको थियो ।

सिलवाल हराएपछि प्रहरीमा परिवारको आग्रहमा एनआरएनए पोर्चुगलले प्रहरीमा खबर गरी खोजीकार्य तीब्र बनाइ एनआरएनए पोर्चुगलको अगुवाईमा पोर्चुगलभर सिलवालको खोजीकार्यका लागि फोटोसहितको पम्प्लेट र सूचना टाँसेर अभियान चलाइएको थियो । संघका अध्यक्ष रबिन अधिकारीका अनुसार सिलवालको शव भेटिएको बारे परिवारलाई खबर गरिएको र परिवारबाट शव नेपाल पठाइदिन आग्रह गरेका कारण मंगलबार सबै कागजात र आवश्यक प्रक्रिया पुरा गरि शव बुझेर नेपाल पठाउनेबारे जानकारी गराइने बताए।