काठमाडौं महानगर मत परिणामः मेयरमा बालेन, उपमेयरमा सुनिता बिजयी, घोषणा हुन बाकीँ

जागृति खबर संवाददाता

१२ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकामा मत गन्न बाकीँ रहदैमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । एमाले उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ ।

यस्तै उप मेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् । काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ ।

काभ्रेमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो

स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा (एमाले) तेस्रो भएको छ । कांग्रेस सात, नेकपा (माओवादी केन्द्र) चार, नेकपा एमले एक र नेकपा (एकीकृत समाजवादी) एक पालिकास्तरको प्रमुख तथा अध्यक्षमा विजयी भएको हो ।

कांग्रेसले जिल्लाको बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकामा प्रमुख पदमा विजयी हासिल गरेको छ भने रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएको छ । यसैगरी कांग्रेस धुलिखेल र मण्डनदेउपुरमा उपप्रमुख तथा महाभारत,

खानीखोला, भ्ुम्लु र चौरीदेउराली गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) खानीखोला, चौरीदेउराली, महाभारत र भुम्लु गाउँपालिकाको अध्यक्ष पदमा र र उपप्रमुख पदमा नमोबुद्ध नगरपालिकामा विजयी हासिल गरेको छ ।

एमाले प्रमुख पदमा धुलिखेल र उपप्रमुख पदमा बनेपा, पनौती र पाँचखाल नगरपालिकामा विजयी भएको छ । नेकपा (एकीकृत समाजवादी)ले भने मण्डनदेउपुर नगरपालिकाको प्रमुख पदमा विजयी हासिल गरेको छ ।

वडागत हिसाबमा भने पहिलो पार्टी कांग्रेस, दोस्रोमा एमाले, तेस्रोमा माओवादी केन्द्र र चौथोमा एकीकृत समाजवादी रहेको छ । जिल्लाको १३५ वटा वडामध्ये कांग्रेसले जिल्लाका ६० वटा वडामा जित हासिल गरेको छ

भने नेकपा एमालेले ४३ वटा वडा र नेकपा (माओवादी केन्द्र)ले २५ वटा वडामा विजयी हासिल गरेको छ ।समाजवादी चार वटा वडा, स्वतन्त्र दुई वटा वडा र राष्ट्रिय प्रजातन्त्र पार्टी एक वटा वडामा विजयी भएको छ ।