काठमाडौंमा ४९ हजार मत गन्न बाँकी, अहिलेसम्म कसकाे मत कति ? (ताजा अपडेट)

जागृति खबर संवाददाता

१० जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकामा एक लाख ४२ हजार ९० मतको गणना सकिएको छ । सोमबार राति १० बजेसम्म मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४८ हजार ८९ मत पाएका छन् ।

दोस्रो स्थानकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २९ हजार १८० मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले २८ हजार ३२६ मत पाएका छन् । उनी सिर्जनाभन्दा ८५४ मतले पछाडि छन् । काठमाडौंमा अब ४८ हजार ९६५ मत गन्न बाँकी छ ।

कामपा वडा ९ मा भण्डारी, १० मा केसी निर्वाचित

काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली कांग्रेसका उम्मेदवार राम्जी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय हुनुभएको हो ।

अध्यक्ष पदमा विजय हुनुभएका भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्थी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा एमालेको तर्फबाट टेकराज अधिकारी र श्रीराम राई निर्वाचित हुनुभएको छ । महिला सदस्यमा कांग्रेसको तर्फबाट सृजना भेटवाल र दलित महिला सदस्यमा एमालेको रचना सोनाम विजय हुनुभएको छ ।

वडा १० मा कांग्रेसको केसी निर्वाचित

त्यस्तै वडा नम्बर १० को अध्यक्ष पदमा कांग्रेसका रामकृष्ण केसी विजय हुनुभएको छ । केसीले एमालेका अशोक कार्कीलाई एक हजार ४७५ मतले पछि पार्दै जित हात पार्नुभएको हो । अध्यक्ष केसीले तीन हजार ४२८ मत प्राप्त गर्दा प्रतिस्पर्थी कार्कीले २९५३ मत प्राप्त गर्नुभएको छ ।

सदस्यमा कांग्रेसका नरोज अर्याल र सतीस तन्डुकार निर्वाचित हुनुभएको छ । महिला सदस्यमा भने कांग्रेसकै रोहनी श्रेष्ठ विजय हुनुभएको छ । दलित महिला सदस्यमा कांग्रेसबाट सुनिता भित्रिकोटी परियार निर्वाचित हुनुभएको छ ।

काठमाडौँ महानगरपालिका–२६ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी

काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी हुनुभएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अघि सम्पन्न मतगणनामा कांग्रेसका तिवारीले तीन हजार ३१५ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार तीर्थकाजी डङ्गोलले दुई हजार ४२९ मत प्राप्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष यसअघि पनि सोही वडाको वडाध्यक्ष हुनुहुन्थ्यो । वडा सदस्यमा पनि कांग्रेसका सबै उम्मेदवार विजयी हुनुभएको छ ।

कांग्रेसबाट विजयी हुने सदस्यमा बाबुबाजी महर्जन र प्रवेश श्रेष्ठ, महिला सदस्यमा शान्ता महर्जन र दलित महिलामा रुपा नेपाली निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २६ मा ठमेल, लैनचौर, सामाखुशी, गल्कोपाखा, रानीवारी, टाउन प्लानिङ, नयाँ बसपार्क, म्हैपीलगायतका क्षेत्रहरू पर्दछन् ।

बाइसवटा वडाको मतपरिणाम सार्वजनिक

महानगरपालिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १८, २०, २१ र २२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १० , ११, १२, २३, २४, २५, २६ २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

त्यसैगरी हालसम्मा एक लाख ३४ हजार ३५६ मतगणना सम्पन्न भएको छ भने जसमा चार हजार ९६४ मत बदर भएको आयोगले जानकारी दिएको छ । कामपामा तीन लाख २२४ मतदाता रहेकामा करिब एक लाख ९२ हजार मत खसेको थियो ।