भरतपुर अपडेट : भरतपुर महानगरकाे मेयरमा रेनु दाहाल विजयी

जागृति खबर संवाददाता

१० जेठ, काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् ।

माओवादी केन्द्रकी अध्यक्ष प्रचण्डकी छोरी दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् । यसपटक पनि उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पारिन् । सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् ।

यसैगरी नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् । उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले हराए । हिमलाको पक्षमा ३० हजार ६१२ मत परेको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका दलहरुले तालमेल गरेपछि नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर प्रतिस्पर्धा गरेका थिए ।

नेपाली कांग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ नम्बर वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका हुन् । ३, ११, १२, १८, १९ र २८ गरी ६ वटा वडा नेकपा एमालेले जितेको छ ।

यसपटक पनि माओवादी केन्द्रले मेयर पद र ३ वटा वडाको वडाध्यक्ष पद जितेको छ । १३, २४ र २६ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुँदा एकीकृत समाजवादीले ७, ९ र २२ नम्बर वडाको नेतृत्व जितेको छ । स्वतन्त्र उम्मेदवार २५ नम्बर वडामा विजयी भएका छन् ।

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बन्नुभएको हो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गर्नुभयो ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको हो ।

यसैगरी उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम कूल २५ हजार १५८ मतसहित विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत प्राप्त गर्नुभयो । निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा ( माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाइएको थियो ।