भरतपुरको मेयरमा अत्यधिक मतसहित रेणु दाहाल पुनः निर्वाचित

जागृति खबर संवाददाता

९ जेठ, चितवन ।

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल पुनः निर्वाचित भएकी छिन् । भरतपुरमा ११ हजार १७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् । कुल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ ।

जसमध्ये रेणु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । दाहाल र सुवेदीको मतान्तर ११ हजार ४५७ रहेको छ । यो मतान्तर गणना गर्न बाँकी रहेको मतभन्दा बढी भएको कारण उनी निर्वाचित बनिसकेकी हुन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत पाएका छन् । यस्तै महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न बाँकी हुँदा नै विजयी भएका छन् । अधिकारीले ४७ हजार ९५८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २७ हजार ९२२ पाएकी छन् ।

अधिकारीले २० हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् ।

विपन्नलाई रासन कार्ड, किसानलाई पेन्सन !

जनमत पार्टीले जितेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले जन्म, विवाह र मृत्यु दर्ता जनताको घरदैलोमै पुगेर बनाइदिने भएको छ ।

नगरपालिकाको मेयरमा निर्वाचित वीरेन्द्र माझीले जन्म, विवाह र मृत्यु र्ताका साथै बृद्धभत्ता पनि घरमै पुगेर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सोमबार लिखित प्रतिवद्धता सार्वजनिक गर्दै विपन्न परिवारलाई रासन कार्ड र वृद्ध किसानलाई पेन्सन उपलब्ध गराउने बताएका छन् ।

‘नगरपालिकाभित्र भोकै बस्नुपर्ने अवस्थाका अति विपन्न वर्ग परिवारको पहिचान गरी उनीहरुलाई रासन कार्ड उपलब्ध गराइने र सुकुम्बासीको पहिचान गरी प्रदेश र संघीय सरकारको समन्वयमा उनीहरुलाई भूमि उपलब्ध गराइनेछ’

प्रतिबद्धता पत्रमा भनिएको छ, ‘जग्गा र घर समेत नहुने अति विपन्न वर्ग परिवारलाई पहिचान गरी उनीहरुलाई एकीकृत वस्ती मार्फत् वासको व्यवस्था गरिनेछ ।’ लुगाको समस्या हुनेका लागि नगरपालिकाभित्र क्लथ बैंक स्थापना गरिने र त्यहाँबाट निःशुल्क लुगा उपलब्ध गराउने मेयर माझीको प्रतिवद्धता छ ।

किसानलाई विभिन्न भागमा वर्गीकरण गरी किसान कार्डको व्यवस्था गर्दै निःशुल्क कृषि मिटर उपलब्ध गराउनुका साथै नगरपालिकाले तोकेको हदसम्म कृषि बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता पनि माझीले गरेका छन् ।

‘नगरपालिकामा कृषि औजार लाइब्रेरी स्थापना गर्दै वैकल्पिक जिविकोपार्जन नहुने किसानको पहिचान गरी वृद्ध किसानको लागि किसान पेन्सन योजना लागू गरिनेछ’ प्रतिबद्धता पत्रमा भनिएको छ ।

नगरपालिकाभित्र तोकेको मापदण्ड पुग्ने हरेक नागरिकलाई कम्तीमा न्यूनतम स्वास्थ्य बीमा उपलब्ध गराउन र नगरपालिकाभित्रका अस्पतालमा निःशुल्क औषधिको व्यवस्था गर्न पहल गरिने तथा वृद्ध तथा अशक्तलाई घर घरमा चिकित्सक गएर नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने पनि प्रतिबद्धता गरिएको छ ।

नगरपालिकाको वडा नम्बर १ र ४ मा झोला र बनाना चिप्स उद्योग खोलेर वा खाल्न लगाएर पहिलो चरणमा सयदेखि १ सय ५० जनाले रोजगारी पाउने व्यवस्था गरिने पनि मेयर माझीले बताएका छन् ।