काठमाडाैं अपडेट : केशव स्थापितले जसमाथि गरे आशा, उसैले बनायो निराश (मतसहित)

जागृति खबर संवाददाता

९ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना प्रतिस्पर्धीसँग झन्डै १९ हजार मतान्तर बनाएका छन्। उनी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा झन्डै १९ हजार मतले अगाडि छन्। सिंह काठमाडौंको मेयरको दौडमा दोस्रो स्थानमा छिन्।

मतगणनाको सुरूदेखि नै अग्रता लिएका शाहले अहिले सिंहसँग १८ हजार ९ सय २३ मतान्तर बनाइसकेका छन्। काठमाडौंको राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना भइरहेको छ। सोमबार बेलुकीसम्म शाहले ४७ हजार ४२९ मत ल्याए। उनका प्रतिस्पर्धी सिंहले २८ हजार ५०६ मत पाइन्।

यता नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २७ हजार ६४२ मत ल्याएका छन्। सुरूवाती मतगणनामा दोस्रो स्थानमा रहेका स्थापितलाई सिंहले पछि पारेकी हुन्। शाह र स्थापितबीच भने १९ हजार ७ सय ८७ को मतान्तर छ। काेर एरियामा मनग्य मत पाउने आशा गरेका स्थापितलाई रैथाजेले नै खासै मत दिएनन् ।

अहिले वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२ र २६ को मतगणना भइरहेको छ। वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २३, २४, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मत गणना भइसकेको छ।

उता, भरतपुर महानगरपालिकामा एक लाख १९ हजार २५३ मतगणना हुँदा रेनु दाहालले ११ हजार ७४० मतको अग्रता लिएकी छन्। रेनु दाहालले ४८ हजार ३०५ मत ल्याएकी छन् भने एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३६ हजार ५६५ मत ल्याएका छन्।

यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ५४२ मत ल्याएका छन्। त्यस्तै, उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारीले ४९ हजार २१४ मत ल्याएका छन् भने हिमला गुरूङले २८ हजार ६०४ मत ल्याएकी छन्।

अहिले २६ र २७ नम्बर वडाको मत गणना भइरहेको छ भने २८ र २९ को बाँकी छ। रेनु दाहालको अग्रता नै ११ हजारभन्दा धेरै भइसक्दा भरतपुरमा अब १० हजारभन्दा कम मत मात्र गन्न बाँकी छ। योसँगै रेनु जीतनिकट छन्।

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मदेवार मनोज साह निर्वाचित

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन । स्वतन्त्र उम्मेदवार साह १३ हजार ४ सय ६५ मत ल्याउँदै मेयरमा निर्वाचित भएका हुन् ।

उनका निकटतमा प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५ सय ३२ मत ल्याए । मनोज ३ हजार ९ सय ३३ मतान्तरले विजयी भएका हुन् ।

गठबन्धनबाट मेयरमा पदमा उम्मेदवारी दिएका जसपाका लालकिशोर साह चौथो स्थान चित्त बुझाए । उनले ५ हजार १ सय ९४ मत ल्याए । लालकिशोर निवर्तमान मेयरसमेत हुन् । तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए ।

त्यस्तै उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका हुन । किशोरी १५ हजार ५ सय २५ मत ल्याउँदै उपमेयर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणा झा १० हजार ८ सय ८५ मत ल्याइन् । लोसपाका उपमेयरका उम्मेदवार रीताकुमारी मिश्रले ५ हजार ८ सय १७ मत मात्रै ल्याउन सकिन् । मिश्र निवर्तमान उपमेयर हुन् ।