भरतपुर अपडेट : ८३ हजार बढी मत गन्दा यस्ताे छ रेनुकाे अवस्था !

जागृति खबर संवाददाता

८ जेठ, काठमाडौं ।

भरतपुर महानगरपालिकामा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्ना निकट प्रतिस्पर्धीको तुलनामा झन्डै सात हजार मतको अग्रता लिएकी छन्।

यहाँ अहिलेसम्म ८३ हजार १ सय ११ मतगणना पूरा भएको छ। त्यसमध्ये दाहालले ३२ हजार ५ सय १९ मत ल्याएकी छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २५ हजार ५ सय ८० मत ल्याएका छन्।

सुवेदीको तुलनामा दाहाल ६ हजार ९ सय ३९ मतले अगाडि छिन्। भुइँकटहर चुनाव चिह्न भएका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार २ सय ९६ मत ल्याएका छन्।

त्यस्तै उपमेयरमा गठबन्धन तर्फबाट कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन्। उनले ३४ हजार ९ सय ३४ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरूङले २० हजार ३१ मत पाएकी छन्।

अहिले भरतपुरमा वडा नम्बर १७ र १८ को मतगणना भइरहेको छ। वडा नम्बर १७ मा नेपाली कांग्रेसले ८ सय ५३ र नेकपा एमालेले ६ सय ४० मत प्राप्त गरेको छ। त्यस्तै वडा नम्बर १८ मा एमालेले ५ सय ५६ र कांग्रेसले ५ सय २५ मत ल्याएको छ।

उता, सुनसरीको धरान उपमहानगरपालिकामा राति साढे आठ बजेसम्म ५२ हजार ९ मतगणना भएको छ । त्यहाँ ६२ हजार ८९८ मत खसेको थियो । अब १० हजार ८८९ मत गन्न बाँकी छ ।

धरानको प्रमुखमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले १६ हजार ८१२ मतसहित अग्रता जारी राखेका छन् । उनी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार किशोर राई भन्दा तीन हजार २४० मतले अघि छन् । कांग्रेसका राईले १३ हजार ५७२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी नेकपा (एमाले)की मञ्जु भण्डारीले ११ हजार ११ मत पाएकी छन् ।

यस्तै, उपप्रमुखतर्फ माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले १६ हजार ७४१ मत पाएर अग्रता कायम गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका पदम ईस्वोले १४ हजार ९७३ मत पाएका छन् ।

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालले विजय हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार शनिबार अबेर साँझ सम्पन्न अन्तिम मतगणना परिणामअनुसार जलेश्वरको प्रमुखमा जसपा नेपालका सुरेश साह सोनारले सात हजार ३०४ मत ल्याएर विजय प्राप्त गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले पाँच हजार ४३० मत ल्याए ।

त्यसैगरी जलेश्वरको उपप्रमुखमा पनि जसपा नेपालकै रौशन खातुनले पाँच हजार ८२१ मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की मुनचुन देवीले चार हजार ८९३ मत प्राप्त गरिन् ।

जलेश्वरका १२ वडामध्ये जसपा नेपालले प्रमुख, उपप्रमुखसहित पाँच वडामा विजय प्राप्त गरेको छ भने एमालेले छ वडा जितेको छ । त्यस्तै एउटा वडामा नेकपा (एकीकृत समाजवादी) ले जित हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।