यस्तो छ काठमाडौं र भरतपुर महानगरमा पछिल्लो मत परिणाम !

जागृति खबर संवाददाता

७ जेठ, काठमाडौं ।

स्वतन्त्रबाट मेयरमा उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँमा साढे ३५ हजार मत कटाएका छन् । उनले पछिल्लो मतपरिणामअनुसार ३५ हजार ७५१ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले भने १९ हजार ५१५ मत पाएका छन् । यस्तै उपमेयरमा सुनिता डंगोलले ३४ हजार मत पाएकी छन् । काठमाडौँमा लगातार अग्रता बढाइरहेका बालेन साहले मेयरमा जित्ने सम्भावना बलियो बनाएका छन् ।

भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । असी हजार १० मत गणना हुँदा पाँच दलीय गठबन्धनले आफ्नो अग्रता कायमै राखेको हो ।

गणनाअनुसार गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले छ हजार ५७० मतले अग्रता लिनुभएको छ भने उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ४८३ मतले अग्रता लिनुभएको छ ।

दाहालले ३१ हजार २४३ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले २४ हजार ६७३ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार तीन मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उपप्रमुखमा अधिकारीले ३३ हजार ६५३ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १९ हजार १७० मत प्राप्त गर्नुभएको छ । भरतपुरमा हालसम्म वडा नं १६ सम्मको गणना सम्पन्न भइसकेको छ । महानगरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा रहेका छन् ।

जिससका लागि दाङमा कांग्रेसको एकल बहुमत
दाङमा जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि दाङबाट २० प्रमुख र उपप्रमुख छन् । दश स्थानीय तहमध्ये दाङमा नौवटा स्थानीय तहका प्रमुख र उपप्रमुखले अन्तिम नतिजा ल्याएर पदभार ग्रहण गरिसकेका छन् । तुलसीपुर उपमहानगरपालिकामा भने मतगणना जारी छ ।

नतिजा आएका नौ स्थानीय तहबाटै जिल्ला समन्वय समितिमा कांग्रेसको स्पस्ट बहुमत देखिएको हो । कांग्रेसले नौ स्थानीय तहमध्ये पाँच प्रमुख र आठ उपप्रमुखमा विजयी हासिल गरेको छ । एघार जना मतदाता भए बहुमत पुग्नेमा कांग्रेसले मात्रै १३ प्रमुख, उपप्रमुख जितिसकेको छ । लमही नगरपालिकासहित दङ्गीशरण, शान्तिनगर, बबई र राजपुर गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको कांग्रेसले राप्ती, बङ्गलाचुली र गढवामा उपप्रमुखमात्रै जितेको हो ।

एमालेले दुई प्रमुख र उपप्रमुख जितेको छ घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जितेको छ भने माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकाकाका प्रमुखमा जितेको हो । जिल्ला समन्वय समितिका लागि स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउनेछन् । मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।