ताजा मत परिणाम सार्वजनिक : बालेनको भन्दा स्थापितको कति मतले फरक !

जागृति खबर संवाददाता

७ जेठ, काठमाडौं ।

स्वतन्त्रबाट मेयरमा उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँमा साढे ३५ हजार मत कटाएका छन् । उनले पछिल्लो मतपरिणामअनुसार ३५ हजार ७५१ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले भने १९ हजार ५१५ मत पाएका छन् । यस्तै उपमेयरमा सुनिता डंगोलले ३४ हजार मत पाएकी छन् । काठमाडौँमा लगातार अग्रता बढाइरहेका बालेन साहले मेयरमा जित्ने सम्भावना बलियो बनाएका छन् ।

बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल
स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांगे्रस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बन्नुभएका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी हुनुभएको हो । मतगणना आज भर्खरै सकिए पनि एकीकृत गर्ने काम नसकिएकाले घोषणा गर्न अझै केही बेर लाग्ने प्रमुख निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिनुभयो । “गणना भएका सबै मतको एकीकृत गर्ने काम भइरहेको छ, अन्तिम आधिकारिक घोषणा गर्न अझै केही समय लाग्नेछ”, प्रमुख निर्वाचन अधिकृत पौडेलले भन्नुभयो ।

स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख निर्वाचित हुनुभएका निवर्तमान नगरप्रमुख शिवराज सुवेदीसँग करिब दुई हजार ३०० मतले पराजित हुनुभएका पाण्डेलाई अहिले एमालेकै उम्मेदवारलाई सात हजारभन्दा बढी मतान्तरले पराजित गरेर विजयी हुनुभएको छ । उपप्रमुखमा भने एमालेकी उम्मेदवार सावित्रा अर्याल विजयी हुनुभएको छ । उहाँ गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङलाई झण्डै सात हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

बुटवलमा १९ वडा रहेकामा कांगे्रसले १२ वडामा जित हासिल गरेको छ । एमालेले पाँच वडामा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले एक र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

जिससका लागि दाङमा कांग्रेसको एकल बहुमत
दाङमा जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि दाङबाट २० प्रमुख र उपप्रमुख छन् । दश स्थानीय तहमध्ये दाङमा नौवटा स्थानीय तहका प्रमुख र उपप्रमुखले अन्तिम नतिजा ल्याएर पदभार ग्रहण गरिसकेका छन् । तुलसीपुर उपमहानगरपालिकामा भने मतगणना जारी छ ।

नतिजा आएका नौ स्थानीय तहबाटै जिल्ला समन्वय समितिमा कांग्रेसको स्पस्ट बहुमत देखिएको हो । कांग्रेसले नौ स्थानीय तहमध्ये पाँच प्रमुख र आठ उपप्रमुखमा विजयी हासिल गरेको छ । एघार जना मतदाता भए बहुमत पुग्नेमा कांग्रेसले मात्रै १३ प्रमुख, उपप्रमुख जितिसकेको छ । लमही नगरपालिकासहित दङ्गीशरण, शान्तिनगर, बबई र राजपुर गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको कांग्रेसले राप्ती, बङ्गलाचुली र गढवामा उपप्रमुखमात्रै जितेको हो ।

एमालेले दुई प्रमुख र उपप्रमुख जितेको छ घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जितेको छ भने माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकाकाका प्रमुखमा जितेको हो । जिल्ला समन्वय समितिका लागि स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउनेछन् । मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।