ताजा अपडेट : काठमाडौंमा ९३ हजार ६४७ मतगणना : कसकाे कति मत ?

जागृति खबर संवाददाता

७ जेष्ठ, काठमाडौं ।

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ९३ हजार ६४७ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)को ३४ हजार १३० मतसहित अग्रता फराकिलो बन्दै गएको छ ।

नेकपा (एमाले)का उमेदवार केशव स्थापित १८ हजार ५४७ मतका साथ दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १८ हजार ४२९ मत प्राप्त गरेकी छन् । काठमाडौँमा अझै ९४ हजार २४२ मत गन्न बाँकी रहेको छ । बालेनले हालसम्म भएको मत गणनाको ३६ प्रतिशत मत ल्याएका छन् ।

उता, बुटवल उपमहानगरपालिकामा नेकपा (एमाले)को २५ वर्षको विरासत ढलेको छ । एमालेले पटकपटक जित्दै आएको रूपन्देहीको बुटवलमा यसपटक नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका खेलराज पाण्डे ७,५३३ मतान्तरसहित विजयी भएका हुन् ।

प्रजातन्त आएपछि एक कार्यकाल स्थानीय तहमा नेतृत्व गरेको कांग्रेसले २५ वर्षपछि बुटवलको नेतृत्व पाएको हो ।

बुटवलमा खसेको कुल ६३ हजार ११६ मतमध्ये पाण्डेले ३० हजार १३० मत ल्याए । जुन कुल मतको ४७.७३ प्रतिशत हो । एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत ल्याए । उनलाई एमालेकै उपमेयरका उमेदवार भन्दापनि कम मत आयो । राप्रपाका मेयर उमेदवार मृगेन्द्र शेरचनले ४ हजार २९७ मत ल्याए ।

उपमेयरमा भने एमालेकी सावित्रादेवी अर्याल विजयी भएकी छन् । उनी २४ हजार ९०४ मत ल्याउँदै विजयी भएकी हुन् । उपमेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का चिनबहादुर गुरुङले १६ हजार ९८० मत ल्याए । राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ मत ल्याएकी छन् ।

वडामा पनि कांग्रेस बलियो धेरै अगाडि छ । बुटवलका कुल १९ वडामध्ये कांग्रेसले ११ वडा जितेको छ । एमालेले ५, माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ वडा जिते । एउटा वडामा स्वतन्त्र उमेदवार विजयी भए ।

२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धका उमेदवारलाई पराजित गरेर मेयरमा एमालेका शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य निर्वाचित भएका थिए ।

त्यतिबेला एमालेका सुवेदीले २३ हजार २४९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेलराज पाण्डेको २० हजार ८५१ थियो । सुवेदी दुईहजार ३९८ मतान्तरले विजयी भएका थिए ।

उपमेयरमा आचार्य २५ हजार ३०१ मत ल्याएर विजयी भएकी थिइन् । माओवादी केन्द्रका जगतबहादुर पोखरेलको १४ हजार ७९२ मत मात्र थियो । पोखरेल तत्काली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि एमालेमा रछन् । त्यस्तै, १९ वटा वडामध्ये एमालेले १५ वडा जितेको थियो ।