मतगणना अपडेट : पोखरामा अग्रता बढाउँदै धनराज र मञ्जु

जागृति खबर संवाददाता

७ जेष्ठ, पोखरा ।

पोखरा महानगरपालिकामा ८८ हजार ४५७ मतगणना भएको छ । महानगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ३५ हजार ५८७ मत प्राप्त गर्दै अग्रता जारी राखेका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का कृष्ण थापाले ३२ हजार ३२५ मत ल्याएका छन् । गठबन्धनका साझा उमेदवार आचार्य थापाभन्दा ३ हजार २६२ मतले अघि छन् । यस्तै, राप्रपाका शंकर खनालले ३ हजार ९८९ र स्वतन्त्र उमेदवार गणेश पौडेलले २ हजार ३६८ मत ल्याएका छन् ।

उपप्रमुखतर्फ एमालेकी मञ्जुदेवी गुरुङले ३६ हजार ८५४ मतसहित अग्रता कायम गरेकी छन् । नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३६ हजार ३९ मत ल्याएकी छन् । राप्रपाकी रञ्जना सेनले ३ हजार ८६४ मत पाएकी छन् ।

जसमा नेपाली कांग्रेसले १५ वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ । गत वैशाख ३१ गतेदेखि मतगणना शुरु भएकामा हालसम्म कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको हो । एमाले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ ।

उता, वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ ।
कूल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार नगरप्रमुख र उपप्रमुखका आठ उम्मेदवारको धरौटी रकम जफत भएको हो । कूल ४० हजार ४१८ मतदाता रहेकामा सो नगरपालिकाका १४ वडामा २५ हजार ७९२ मत खसेको थियो ।

नगरपालिकामा खसेको २४ हजार ८०० मतमध्ये पाँच पार्टीका नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत भएको छ ।

नगरप्रमुखका उम्मेदवार विवेकशील साझा पार्टीका सुरज खड्काले ५४ मत, नेपाल दलित पार्टीका भक्तबहादुर रसाइलीले ६३ मत, नेपाली कांग्रेस ‘बिपी’ का धना आचार्यले १२ मत, नेकपा (माले)का मन्जु क्षेत्रीले २६ मत, र नेपाल परिवार दलका नलीप्रसाद आचार्यले १२ मत पाएपछि धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

नगर उपप्रमुख पदमा उम्मेदवारी दिएका नेपाल दलित पार्टीका शान्तिकुमारी नेपालीले ५२ मत, एकीकृत समाजवादीका जीवन आचार्यले ५० मत र स्वतन्त्र उम्मेदवार ताराकुमारी रिजालले ९३ मत प्राप्त गरेपछि धरौटी जफत भएको छ ।