काठमाडाैं मतगणना अपडेट : केशव स्थापितलाई सिर्जनाले उछिनिन् कसकाे कति मत ?

जागृति खबर संवाददाता

७ जेष्ठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका जारी मतगणनामा पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाह (बालेन्द्र साह) को अग्रता कायमै रहेपनि दोस्रो स्थानमा भने एमालेका उम्मेदवार केशव स्थापित र काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

केशव स्थापितले जारी मतगणनामा अग्रता लिँदै आएकोमा शनिबार दिउँसोको ताजा मतपरिणामअनुसार सिर्जनाले अग्रता लिएकी छन् ।
मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२ मत पाएकी छन् । सिर्जनाले २४ मतले अग्रता बनाएकी हुन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार बालेन शाहले ३२ हजार ९७८ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनामा समावेश वडाहरुमा १ देखि १० र २४ देखि ३२ नम्बर सम्मका रहेका छन् । यस्तै हालसम्म परिणाम घोषणा भएका वडाहरुमा १ देखि ६ तथा ८, २८ र २९ नम्बर रहेका छन्।

भरतपुरमा ७५,३८८ मतगणना : रेनुको अग्रता झनै बढ्याे

स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा ७५ हजार ३८८ मतगणना सकिएको छ । पछिल्लो गणनाअनुसार सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर पदकी उमेदवार रेनु दाहालले निकटतम प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि छाडेकी छन् ।

रेनुले २९ हजार २२६ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले २३ हजार ५१९ मत ल्याएका छन् । रेनु विजयभन्दा पाँच हजार ७०७ मतान्तरले अगाडि छन् । यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १० हजार २५९ मत प्राप्त गरेका छन् । भरतपुरमा एक लाख २७ हजारभन्दा बढी मत खसेको छ ।

पोखरामा धनराजको अग्रता कायमै

पोखरा महानगरपालिकामा दिउँसो १ बजेसम्म ८५ हजार १५७ मतगणना भएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता कायम छ । उनले ३४ हजार ३३६ मत पाएका छन् ।

नेकपा एमालेका उमेदवार कृष्ण थापाले ३० हजार ९४९ मत ल्याएका छन् । पोखरा महानगरमा चुनाव चिह्न लौरो लिएर अटेरी अभियानका तर्फबाट उमेदवारमा गनेस पौडेल प्रतिस्पर्धामा छन् । उनले हालसम्म २ हजार ३३५ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगर र धरान उपमहानगरमा स्वतन्त्रका उमेदवार क्रमशः बालेन शाह र हर्क साम्पाङले अग्रता कायम गरिरहेका छन् ।