पाेखरा महानगरपालिकाकाे पछिल्लाे मत परिणाम

जागृति खबर संवाददाता

७ जेष्ठ, काठमाडौं ।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म ८० हजार १५४ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ३२ हजार ४८० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले तीन हजार ४३९ मतान्तरसहित अग्रता हासिल गर्नुभएको हो ।

त्यस्तै प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शङ्कर खरालले तीन हजार ५२० मत प्राप्त गर्नुभएको छ भने अटेरी अभियानका तर्फबाट प्रमुख पदका उम्मेदवार गनेस पौडेलले दुई हजार २४९ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ३३ हजार २२१ मतसहित अघि हुनुहुन्छ भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ३२ हजार ९५९ मतसहित उहाँलाई पछ्याउनुभएको छ । उपप्रमुख पदमा राप्रपाकी रञ्जना सेनले तीन हजार ४११ मत प्राप्त गर्नुभएको छ ।

भरतपुरमा पाँच हजार बढीले दाहालको अग्रता
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिनुभएको छ ।

उहाँले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले नौ हजार ५५२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १२ हजार २०० मत अन्तरले अग्रता लिनुभएको छ । अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गर्नुभएको छ । गणना सकिएका वडामा नेपाली कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, नेकपा एमालेले वडा नम्बर ३, ११ र १२, नेकपा समाजवादीले ७ र ९ एवं नेकपा माओवादी केन्द्रले वडा नम्बर १३ मा विजय हासिल गरेको छ ।

हाल भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को गणना जारी रहेको छ । गणना जारी वडामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिनुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।