काठमाडौँ–वडा नम्बर २९ को मतगणनामा धाँधली, ६४ मत गायव यस्तो अवस्था !

जागृति खबर संवाददाता

६ जेष्ठ, काठमाडौं ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को मतगणनामा धाँधली भएको एमालेले आरोप लगाएको छ। खसेको भन्दा ६४ मत गायव गरी गनिएको एमाले काठमाडौँ जिल्ला सचिव राजेश शाक्यले जानकारी दिए।

वैशाख ३० गते भएको मतदानमा ५००८ मत खसेको मुचुल्का भए पनि शुक्रबार गणनामा ४९४४ मत मात्रै गनिएको उनले बताए। आफूहरुले घोषित परिणामलाई स्थगित गर्दै पुनः मतदानको माग गरेको सचिव शाक्यले जानकारी दिए।

उनले भने, ‘गणनाका क्रममा धाँधली भएको छ। निर्वाचन आयोगले त्यसलाई सच्याउनुपर्छ। गन्दा खसेको भन्दा कम मत किन भयोरु’

आयोगले घोषणा गरेको परिणामअनुसार कांग्रेसका कुश ढकालले १९२१ मत पाएर प्यानलसहित निर्वाचित भएका छन्। एमालेका वडा अध्यक्षका उम्मेदवार शिवराम राजवंशीले १८७१ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ५१ को मात्रै छ।

कामपा वडा २९ मा कांग्रेसका ढकालको प्यानलै विजय
काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी हुनुभएको छ । ढकालले नेकपा(एमाले)का निकटतम प्रतिद्वन्द्वी शिवराम राजवंशीलाई ५० मतले पछि पार्दै विजय हुनुभएको हो । ढकालले एक हजार ९२१ मत प्राप्त गर्दा राजवंशीले एक हजार ८७१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सदस्यमा कांग्रेसका अनिलकुमार श्रेष्ठ र सन्तोष ढुङ्गेल विजयी हुनुभएको छ । महिला सदस्यतर्फ कांग्रेसको रेनु श्रेष्ठ र दलित महिला सदस्यमा सङ्गीता पुजारी विजय हुनुभएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो । त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २८ हजार ११२ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ९८३ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६६९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा सुनिता डङ्गोलले २७ हजार ७०२ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले एक हजार ६१७ मत प्राप्त गर्नुभएको छ । हाल कामपा वडा नं १, २, ३ ,४ ५, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ६, ७, ८, ९, १०, २५, २६, र ३१ के मत गणना कार्य जारी छ । अहिले कामपामा ७४ हजार ७५१ मत गणना कार्य सकिएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।