साझ ५ बजेको ताजा अपडेट : बालेनले झन् बढाए अग्रता, कसकाे कति मत !

जागृति खबर संवाददाता

५ जेष्ठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले २२ हजार बढी मत पाएका छन्। अहिलेसम्मको ५८ हजार ८५० मत गणना गर्दा शाहले २३ हजार ५८४ मत पाएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ३८० मत पाएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले भने ११ हजार ४९९ मत पाएकी छन्। बालेन र स्थापितबीचको मतान्तर ११ हजार बढी देखिन्छ।

स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइरहेको छ। हालसम्म २ वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले सर्वाधिक २५३ पालिकामा जित निकालेको छ। यस्तै नेकपा एमालेले १५२ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १०२ पालिकामा प्रमुख पद जितेको छ।

जनता समाजवादी पार्टीले १३ वटा पालिकामा जित निकाल्दा नेकपा एकीकृत समाजवादी पार्टीले १२ पालिकामा जित हात पारेको छ। ७ जना स्वतन्त्र उम्मेदवारले पालिकामा प्रमुख पद जित्दा राष्ट्रिय जनमोर्चाले ४ पालिकाको प्रमुख पद जितेको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीले २-२ वटा पालिकामा प्रमुख पद जितेको छ। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले १-१ पालिकामा प्रमुख पद जितेका छन्।

बुवासँग हारेकी थिइन्, यसपटक छोरालाई जितिन्

बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी गण्डकी थापा निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा पालिका प्रमुखमा निर्वाचित हुने जिल्लाकै पहिलो महिला हुन् ।

तर उनको विजय रोचक लाग्छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका मेहरसिंह पाइजासँग पराजित भएकी थापाले यसपटक पाइजाकै छोरा राजनकुमार पाइजालाई हराइन् ।

अध्यक्षमा निर्वाचित थापाले ७ हजार २७३ मत प्राप्त गर्दा राजनकुमारले ५ हजार ७ सय मत ल्याए । अघिल्लो निर्वाचनमा ५९२ मत अन्तरले मेहरसिंहसँग हार व्यहोरेकी उनले यो पटक उनका छोरा राजनकुमारलाई १ हजार ५७३ मत अन्तरले पराजित गरेकी छन् ।

गाउँपालिका उपाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी भएका छन् । वनले ७ हजार १०३ मत प्राप्त गर्दा एमालेकी मीनकुमारी रायमाझीले ५ हजार ७२७ मत ल्याइन् ।