भरतपुर महानगरमा रेणु दाहाल भारी मतले बिजयी

जागृति खबर संवाददाता

यसरी जित्ने हिशाब छ माओवादीको

१. सांगठनिक मतमा वृद्धि ः रेणुको राम्रो काम र पार्टी संगठन विगतको भन्दा सुदृढ भएकाले करीब ३० हजार मत पार्टीको सुरक्षित रहेको आकलन माओवादीको छ ।

चुनावी प्रचार संयोजक बद्री तिम्सिनाका अनुसार पार्टीले ७४ सालमा ल्याएको २० हजार मतमा अहिले बढेर ३० हजार पुगेको छ । त्यो राप्रपाको तिम्सिनाको टोलीसँगको एकीकरण र मेयर दाहालको कामका कारण विस्तारित मत हो । भरतपुरमा करीब एक लाख ४० हजार मत खस्ने आंकलन छ ।

२. काँग्रेसको आधा मत रेणुको पक्षमा आउने आंकलन : काँग्रेसले आधिकारीक रुपमा गठबन्धन गरेकाले संस्थागत रुपमा काँग्रेसको कम्तीमा पनि ५० प्रतिशत मत रेणुलाई खस्ने माओवादकिो आकलन छ । त्यसो भयो भने काँग्रेसको ४० हजार मत मध्य २० हजार आँउदा रेणुको मत ५० हजार पुग्नेछ ।

३. एकीकृत समाजवादी, जसपा र जनमोर्चाबाट थपिने मत : अहिले गठबन्धनका कारण भरतपुरमा रेणुका लागि एमालेबाट फुटेको एकीकृत समाजवादीको तीन देखि ५ हजार मत रेणुको पक्षमा आउने छ । जनमोर्चाको करीब २ हजार, जसपाको २ हजार जति मत पनि रेणुको पक्षमा आउनेछ । त्यसो गर्दा करीब ६० हजार मत रेणुले पाउने छिन् ।

४. राप्रपाका केही र स्वतन्त्र मतले निर्णायक जीत : माओवादी नेताहरुले गरिरहेको अभ्यासका क्रममा अहिले एमाले भित्र पनि सानो सानो तहमा कतिपय असन्तुष्टीहरु फेला परेका छन् ।
पार्टी जे भए पनि एक पटक रेणुलाई मेयर बनाउनु पर्ने मनशायमा एमाले भित्रको कतिपय जनमत देखिएको माओवादी नेताको दावी छ । त्यसै गरी एमालेले राप्रपासँग चुनावी तालमेल गरेपनि केही मत माओवादीलाई खसाउने रणनीति छ । जसमा बद्री तिम्सिनाले ठूलो भूमिका खेलिरहेका छन् ।

यस बाहेक कतै पनि आलोचनाको पात्र नबनेको बरु उल्लेख्य समर्थन र सहानुभूति पाएकी रेणुले स्वतन्त्र मतहरुबाट उल्लेख्य समर्थन हासिल गर्ने देखिन्छ । विप्लवकै कतिपय मानिसहरु पनि रेणुको समर्थनमा रहेको माओवादी नेताको दाबी छ ।

यी सबै कारणले चुनाव लगभग जितिने दिशामा पुगेको माओवादीको आँकलन छ । तर यसको परिणाम नआउदा सम्म केही भन्न सकिने अवस्था भने छैन ।

भरतपुरमा काँग्रेसका बागी उम्मेदवार कायमै रहँदा रेणुलाई ‘जित्न सजिलो ‘ ! कसरी ?

काठमाडौं । आजको रात छोड्ने हो भने स्थानीय तहको चुनावको मिति आउन आउन अब १२ दिन मात्रै बाँकी छ । चुनावको मिति नजिकिएसँगै देशभर यसको सरगर्मि पनि बढ्दो छ ।

स्थानीय तहको चुनाव भएकाले हरेक गाउँ, पालिकामा चुनावी जोड घटाउ चलिरहेका छन् । त्यसका अतिरिक्त आकर्षणको केन्द्र भने चितवनको भरतपुर बनेको छ ।

देशकै ठूलाे र संघीय राजधानी समेत भएको महानगरका हिसाबले काठमाडौंको चर्चा स्वभाविक हो । तर मोफसलका अन्य महानगरको तुलना भरतपुरसँग हुने देखिएको छैन ।

एक कार्यक्रममा भरतपुर महानगरकाे मेयरको उम्मेदवार रेणु दाहालले भनेकी थिइन्, ‘भूगोलको हिसाबले र राजनीतिका हिसाबले पनि भरतपुर देशको केन्द्रमा छ ।’

नेपाली राजनीति र संचारमाध्यमका कभरेजहरु हेर्ने हो भने पनि अहिले भरतपुर बहसको केन्द्रमा देखिएको छ । भरतपुर केन्द्रमा हुनुको केही आधार र कारणहरु छन् । जसले भरतपुरलाई सधैं बहसमा तान्ने गरेको छ ।

मुख्य कारण त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला, निर्वाचन क्षेत्र चितवन हुनु नै हो । चितवन र भरतपुरमा हुने हरेक राजनीतिक घटनाक्रमहरुलाई प्रचण्डसँग जोडेर हेर्ने गरिन्छ ।

प्रचण्डको जित वा हार, प्रचण्डको सफलता वा असफलता, प्रचण्डलाई फाइदा वा घाटाको कोणबाट विश्लेषण गर्ने भएकाले प्रचण्ड राष्ट्रिय राजनीतिको केन्द्रमा रहेसम्म चितवन पनि बहसको केन्द्रीय विषय बनिरहन्छ । दोस्रो प्रचण्डकै छोरी माओवादी केन्द्रको नेतृ रेणु दाहाल त्यहाँको मेयर पदको प्रत्यासीका रुपमा दोहोरिनु ।

यस विषयमा पनि नेपाली राजनीतिक रंगमञ्चमा प्रशस्त बहस भएको छ । यस अघिको चुनावमा भएको मतपत्र च्यात्ने काम र त्यसले सृजना गरेको तरंगकै सेरोफेरोबाट कतिपयले विश्लेषण गर्ने गरेका छन् भने कतिपयले रेणुलाई भरतपुरमा भएका विकासकाे आँखाबाट हेरिरहेका छन् । प्रचण्ड आफैंले अचेल आफूलाई मानिसहरुले ‘रेणुका बा’ भन्न थालेको बताएका थिए ।

यसको अर्थ रेणु दाहालले ५ वर्षे कार्यकालमा गरेका कामहरु नै उनलाई एक सफल मेयरको उपमा दिन पर्याप्त छन् भन्ने कुरा माओवादी बाहेकका व्यक्तिहरुबाट आएको प्रतिक्रियाले देखाउँछ । पाइलट, कलाकार तथा सेलिब्रेटि विजय लामा, पूर्व प्रशासक भीम उपाध्याय लगायत व्यक्तिहरुले मुक्तकण्ठले भरतपुरमा रेणुले गरेको विकासको प्रशंसा गरेका छन् ।

भरतपुर चर्चामा आउनुकाे तेस्राे कारण भनेको रेणुका विरुद्ध नेपाली काँग्रेसका पुराना नेता जगन्नाथ पौडेलको उम्मेदवारी हो । पौडेल बरु पार्टीबाट निश्कासित हुन तयार भए तर सत्ता गठबन्धनकाे उम्मेदवार रेणु विरुद्धको बागी उम्मेदवारी फिर्ता लिन तयार भएनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहित ठूलो संख्याका काँग्रेस नेताहरुको आग्रह र आश्वासनलाई उनले लत्याईदिए । अब उनको बागी उम्मेदवारीले मेयरमा रेणु दाहाललाई कस्तो असर पर्छ भन्ने कोणबाट मानिसहरुका विश्लेषण र लख कटाई सुरु भएका छन् ।

के पार्टी नीति र निर्देशन उल्लघन गर्ने पौडेललाई भरतपुरका काँग्रेस नेता कार्यकर्ताले साथ देलान् ? वा पौडेलले भनेजस्तो बागी उम्मेदवार कायम नराख्ने हो भने काँग्रेस सकिन्छ भन्ने कुरा पत्याउलान् ? यसको छिनाेफनाे जेठको पहिलाे सातासम्म हुने नै छ ।

परिणामका लागि पहिलाे साता पर्खनु परेपनि काँग्रेसका बागी उम्मेदवार पौडेलको उम्मेदवारी कायम रहँदा रेणु दाहाललाई हुन सक्ने फाईदा वा घाटाबारे विभिन्न कोणबाट ब्याख्या विश्लेषण भने चलिरहेको छ । यस्तै विश्लेषणको भिडमा एउटा नयाँ विश्लेषण स्वातन्त्र वृत्तमा सुरु भएको छ ।

त्यो के हो भने, चितनवका काँग्रेसहरुमा माओवादीलाई पटक पटक मतदान गर्नुपरेको निरासा वा आक्रोश छ । राष्ट्रिय राजनीतिको जोड घटाउ र असर तथा प्रभावलाई आँखा चिम्लने हो भने, चितवनका काँग्रेस नेता कार्यकर्ताले जहिल्यै माओवादीलाई गठबन्धनको बहानामा भोट हालिरहनुपर्छ भने किन राजनीति गर्ने ? भन्ने तर्क पनि कमजोर देखिदैन ।

तर राष्ट्रिय राजनीतिकाे दिशा सहि वा गलत हुँदा पार्ने प्रभाव भन्दा चितवनको स्थानीय राजनीति मुख्य हाेइन । जे भएपनि राष्ट्रिय राजनीति भढ्खालोमा जाओस हाम्रो चितवन चाहीँ हाम्रै हुनुपर्छ भन्ने अपरिपक्व राजनीतिक सोच राख्ने काँग्रेसजन चितवनमा कमै होलान् ।

केही मात्रामा त्यस्ता नेता कार्यकर्ता देशैभर हरेक दल भित्र नदेखिने होईनन् । चितवनमा बागी उम्मेदवारको रुपमा पौडेल कायम रहनुले त्यस्तो आक्रोशित काँग्रेसको मत उनलाई खस्ने पक्का छ ।

यदी बागीको रुपमा उनी थिएनन् भने रेणुलाई मत दिनै नचहाने काँग्रेसी मतदाताले प्रतिपक्षी दल एमाले – राप्रपाको उम्मेदवारलाई दिन सक्दथे । त्यो हुनु भनेको रेणुको निकटतम् प्रतिद्धन्दी बलियो हुनु हो ।

तर अब आक्रोशित, निरास वा आफ्नो स्वार्थको जोड घटाउ गरिरहेको काँग्रेसी नेता कार्यकर्ता बागी उम्मेदवारलाई मतदान गर्न लामबद्ध हुनेछ ।

चितवन काँग्रेसको मूल प्रवाह पार्टीको नीति र निर्देशन अनुसार गठबन्धनको साझा उम्मेदवार रेणु दाहाललाई नै मतदान गर्न तयार हुनेछ । यसको अर्थ केन्द्रमा भएकाे चुनावी तालमेलबाट बिच्किएका चितवनका काँग्रेसीजनको मत विपक्षीको ढ्वाङमा खस्ने छैन ।

बागी पौडेलको मत जितका लागि काफी हुँदैन र माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र काँग्रेसका मूलधारका मतदाता तथा आफ्नो कामबाट भरतपुरमा ५ वर्षमा आर्जन गरेका मतदाताको मतले रेणु दाहाल फेरि पनि विजयी हुनेछिन् भन्ने विश्लेषणमा देखिएको छ ।