बालेन शाह दोब्बर मतले अगाडि, काठमाडौं महानगरमा कसको मत कति ?

जागृति खबर संवाददाता

५ जेष्ठ, काठमाडौं ।

काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर दोब्बर बनाएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा दोब्बर मत ल्याएका हुन् ।

सुरुदेखि नै अग्रता लिएका शाहले निकटतम प्रतिस्पर्धी स्थापितसँग मतान्तर बढाउँदै लगेका हुन् । बिहीबार बिहान दशबजेसम्म जारी मतगणनामा बालेनले २१ हजार ८१५ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी स्थापितले ११ हजार १२४ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट मेयर पदकी उम्मेदवार सिर्जना सिंहले १० हजार २६७ मत पाएकी छन् । स्थापित र सिंहको मतान्तर पनि बढ्दै गएको छ । स्थापित र सिर्जनाबीचको मतान्तर एक हजार रहेको छ ।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिएकी छन् । उनले १९ हजार ९५६ मत पाउँदा निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ निकै पछि छन् ।

पाँच दलीय सत्ता गठबन्धनबाट उपमेयर बनेका श्रेष्ठले ६ हजार ३१६ मत पाएका छन् । त्यस्तै राप्रपाकी उपमेयरकी उम्मेदवार बिनिता मगैयाले ४४६४ मत पाएकी छन् । मतगणनामा भइरहेको ढिलाईले काठमाडौंको अन्तिम मतपरिणाम आउन केहि दिन लाग्ने भएको छ ।

अघिल्लो पटक काठमाडौं महानगरको परिणाम घोषणा हुन दश दिन लागेको थियो । निर्वाचन आयोगले मतगणनामा भइरहेको ढिलाईप्रति चासो राखेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा एक लाख ९१ हजार १८६ मत खसेको थियो ।

धनुषाको कमलामा कांग्रेस, मुखियापट्टीमा जसपा
धनुषाको कमला नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसले जितेको छ । मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने जनता समाजवादी पार्टीले जित हासिल गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कमलाको प्रमुखमा नेपाली कांग्रेसका विशेश्वर यादव र उपप्रमुखमा कांग्रेसकै शिलादेवी मण्डल विजयी भएका छन् । विशेश्वरले तीन हजार ८८७ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका पशुपति यादवले दुई हजार ८५९ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयरमा तीन हजार ८८७ मतसहित कांग्रेसका शिलादेवी मण्डल विजयी हुदाँ उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की सरस्वती सिन्हा कुशवाहाले दुई हजार ७६६ मत प्राप्त गर्नुभयो ।

यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका जयकुमार यादव र उपाध्यक्षमा सैदा खातुन निर्वाचित भएको निर्वाचन अधिकृत निरज पोखरेलले जानकारी दिनुभयो । अध्यक्षमा निर्वाचित यादवले पाँच हजार ४१० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामबाबु यादवले दुई हजार ४५५ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा खातुनले चार हजार ४१४ मत ल्याएर निर्वाचित हुदाँ कांग्रेसकी अनिता कुमारीले तीन हजार १५२ मतमा प्राप्त गर्नुभयो ।