भरतपुरको विहानी अपडेट : ३८ हजार मत गन्दा रेणु तिब्र गतिमा अगाडी बढ्दै !

जागृति खबर संवाददाता

५ जेष्ठ, काठमाडौं ।

विशेष चासोको रुपमा हेरिएको भरतपुर महानगरपालिकामा झण्डै ३८ हजार मत गनेर सकिएको छ । पछिल्लो मत परिणाम अनुसार भरतपुर महानगर पालिकामा

गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् ।३७ हजार ८६७ मत गणना हुँदा दाहालले २ हजार ९४६ मतले अग्रता बनाउन सफल भएकी हुन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन् ।पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले

१४ हजार ३ सय ७७ मत ल्याएकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले ११ हजार ४ सय ३१ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसबाट विद्रोह गरेर कांग्रेसका असन्तुष्ट नेताहरुबाट उम्मेदवार बनेका जगन्नाथ पौडेलले ५ हजार ९ सय ९७ मत ल्याएका छन् ।

उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार चित्रसेन अधिकारीले १६ हजार ७ सय ४१ मत र एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका हिमला गुरुङले ९ हजार २ सय ६९ मत ल्याएका छन् ।

यस्तै स्थानीय तह निर्वाचनको जारी मतगणनामा प्राप्त परिणामअनुसार नेपाली कांग्रेस स्थानीय तहमा अब पहिलो दल बन्ने पक्का भएको छ ।

२०७४ को निर्वाचनमा स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विगत जोगाउने परिणाम ल्याउन नसक्दा एक स्थान तल झर्दै दोस्रो बन्ने देखिएको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ स्थानीय तहमा प्रमुख-अध्यक्षमा जित हात पारेको थियो भने २ सय ६६ स्थानीय तहमा कांग्रेसले जितेको थियो । तर बुधबार राति अबेरसम्मको प्रारम्भिक परिणामअनुसार कांग्रेसले विगतको दोस्रो स्थानको हैसियतलाई बदल्दै स्थानीय तहमा पहिलो दल बन्ने पक्का भएको हो ।

राति अबेरसम्मको परिणामअनुसार कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ३० स्थानीय तहमा प्रमुख-अध्यक्षमा जित हात पारेको छ भने ८७ स्थानीय तहमा अग्रता लिएको छ ।

यो अग्रता हेर्दा कांग्रेसले ३ सय बढी स्थानीय तहमा जित निकाल्ने देखिएको छ । यस्तै, नेकपा एमालेले १ सय ४९ तहमा प्रमुख-अध्यक्षमा जित हात पार्दा ५० स्थानीय तहमा अग्रता लिएको छ ।

यो अंक हेर्दा स्थानीय तहमा एमालेले विगतको भन्दा करिब ९० स्थानीय तह गुमाउने देखिएको छ । यसैगरी, विगतको स्थानीय तह निर्वाचनमा १ सय ६ तह जित्दै तेस्रो दल बनेको नेकपा

माओवादी केन्द्रले भने विगतको हैसियतलाई अंकमा बढाएर तेस्रो स्थानलाई सुरक्षित गर्ने पक्का भइसकेको छ । बुधबार रातिसम्मको परिणामअनुसार माओवादी केन्द्रले १ सय स्थानीय तहमा जित निकालिसकेको छ भने २० स्थानीय तहमा अग्रता लिएको छ ।