मतगणनाकाे सुरूवाती रूझान् : यी हुन् एमालेले अग्रता लिएका स्थानीय तह

जागृति खबर संवाददाता

३१ वैशाख, काठमाडौं ।

देशभरका केही स्थानीय तहमा मतगणना सुरु भएको छ । जारी मतगणनामा नेकपा एमालेले चार स्थानीय तहमा सुरुवाती अग्रता लिएको छ । अहिलेसम्म प्राप्त मतगणना एमालेले एक वडाध्यक्ष पदमा विजयी भएकाे छ ।

स्थानीय तहको निर्वाचनमा देशभर ६४ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी मतदानका विषयमा जानकारी दिएको छ।

अहिलेसम्म प्राप्त तथ्यांकअनुसार, ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो। देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए।

देशभरका ७५३ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधिका लागि निर्वाचन भएको हो। जसमा ३५५ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

चामे गाउँपालिका

मनाङको चामे गाउँपालिकाका २ वटा वडाको मतगणना सकिँदा एमालेले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार वडा नं. १ र २ मा मतगणना सकिएको छ ।

यी दुई वडाका वडाध्यक्ष भने यसअघि नै निर्विरोध भएका थिए । पछिल्लो विवरणअनुसार पालिका अध्यक्षमा एमालेका लोकेन्द्र घलेले १५२ मत ल्याएर अग्रता लिइरहेका छन् । कांग्रेसका छिरिङ दोर्जेले १३० मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकी आशाकुमारी गुरुङले १५४ मत र कांग्रेसकी मिङमार ढोमा लामाले १२९ मत पाएकी छन् ।

घरपोझोङ गाउँपालिका

मुस्ताङको घरपोझोङमा मतगणना सुरु भएको छ । मतगणनामा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।अध्यक्षमा एमालेका सन्जयकुमार थकालीले १४९ भोट पाएका छन् भने कांग्रेसका मोहन सिंह लालचनले ४५ भोट पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकी मिमकुमारी शेरचनले ७२ भोटका साथ अग्रता बनाएकी छन् । कांग्रेसकी जमुना थापा मगरले ५७ भोट पाएकी छन् ।

डिस्याङ गाउँपालिका

मनाङको डिस्याङ गाउँपालिकामा मतगणना जारी छ । सुरुवाती मतपरिणामअनुसार एमालेका उम्मेदवारले अग्रता बनाएका छन् ।

एउटा वडाको मतगणना सकिँदा एमाले अध्यक्ष उम्मेदवार कान्छा घलेले १६७ भोटका साथ अग्रता बनाएका छन् । कांग्रेसका छिरिङ ओङमा गुरुङ घले ७३ले भोट पाएकी छन् ।

उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले १६२ भोटका साथ अग्रता बनाउँदा कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ७९ भोट पाएका छन् ।

चामे गाउँपालिका

मनाङको चामे गाउँपालिकामा पनि एमाले उम्मेदवारले अग्रता बनाएका छन् । वडा नम्बर १ मा वडाध्यक्षमा एमालेका मिङमर गुरुङ विजयी भएका छन् । उनले १६२ मतका साथ जित्दा कांग्रेसका टसि छिरिङ गुरुङ ७९ भोट पाएर पराजित भएका छन् ।

काठमाडौंको मतगणना शनिबार विहान ८ बजेदेखि

काठमाडौं महानगरपालिकामा मतगणना सुरू गर्न जारी सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेबाट मात्र मत गन्न सुरू गरिने भएको छ।

राष्ट्रिय सभागृहस्थित गणनास्थलमा मध्यरातबाट सुरू सर्वदलीय बैठकमा यसबारे सहमति भएको त्यहाँ उपस्थित एक प्रतिनिधिले जानकारी दिए।

अहिलेसम्मको छलफलअनुसार पहिलो चरणमा वडा नम्बर १ बाट ५ सम्मको मतगणना गरिनेछ। त्यसपछि क्रमैसँग थप वडाहरूको मत गन्न थालिनेछ।

यसअघि राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो प्रतिनिधि टुंगो गर्न नसक्दा सर्वदलीय बैठक बस्न सकेको थिएन।

यसबीच मतगणनामा सबै स्वतन्त्र उम्मेदवारहरूले आफ्नो प्रतिनिधि राख्न नपाउने भएपछि काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले आपत्ति जनाएका छन्। उनका सहयोगी कुमार व्यञ्जनकारले आफ्नो तर्फबाट पनि प्रतिनिधि राख्न पाउनुपर्ने माग गरेका छन्।

‘पाँच जना स्वतन्त्र उम्मेदवार बराबर हामी एक जना प्रतिनिधि राख्छौं भनेर उहाँहरूले भन्नुभएको छ,’ व्यञ्जनकारले भने, ‘हामीले पनि एक जना उम्मेदवार बराबर एक जना प्रतिनिधि राख्न पाउनुपर्छ।’

मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले भने स्वतन्त्रका तर्फबाट धेरै प्रतिनिधि राख्न सकिने अवस्था नरहेको बताए।

‘हामीलाई आयोगबाट आएको परिपत्रमा मतगणनाका दौरान स्वतन्त्र उम्मेदवारहरूका तर्फबाट बढीमा पाँच जना राख्ने व्यवस्था गर्नू भनिएको छ,’

खतिवडाले भने, ‘सबै स्वतन्त्र उम्मेदवार जम्मा भएर आफैं सहमति गरी पाँच जना एकपटक र अर्कोपटक अर्को पाँच जना बस्ने गर्ने प्रबन्ध मिलाउन भनिएको छ।’

उनले बालेनका तर्फबाट स्वतन्त्र उम्मेदवारहरूबीच सहमति जुटाउन सके सधैं बस्ने व्यवस्था मिलाउन सकिने बताए।