मंगलबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द,सबै प्रकारका यातायात सेवा पनि बन्द रहने

जागृति खबर संवाददाता

२३ वैशाख, काठमाडौं ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी तीन दिन अन्तर्राष्‍ट्रिय उडान बन्द हुने भएको छ । बैशाख २७ गते (मंगलबार) राति १२ बजेदेखि अन्तर्राष्‍ट्रिय सीमाबाट हुने सबै उडान बन्द गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई पत्र पठाउने निर्णय गरेको हो ।

स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा मतदान सम्पन्‍न गराउन हवाइ सेवा बन्द गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

यसैगरी, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ मा उल्लेख भए बमोजिम मात्र मादक पदार्थ निषेध तथा बिक्री वितरण गर्न दिने भएको छ । वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्‍न नभएसम्म तोकिएको क्षेत्रमा मात्र मादक पदार्थको बिक्री वितरण गर्न दिने र सेवनमा कडाइ गर्न पनि गृह मन्त्रालयलाई आयोगले पत्र पठाइसकेको छ ।

यो पनि…मेयरका उम्मेदवारको गाडीमा आगजनी, प्रचारमा हिँड्ने एक जना पक्राउ

मोरङको बेलबारी नगरपालिकामा मेयरका उम्मेदवारको गाडीमा आगजनी गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी आगजनी गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डे ‘बाघे’लाई प्रहरीले शुक्रवार बिहान पक्राउ गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमले घरमै पार्किङ गरेर राखेको बा१२च ९३८४ नम्बरको कारमा शुक्रबार बिहान आगजनी गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमालले जानकारी दिए । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयर पदमा उम्मेदवारी दिएका उनी होटल व्यवसायी पनि हुन् ।

प्रहरीका अनुसार बिहान २ बजेतिर घटनाको जानकारी आएको थियो । तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले घटनामा संलग्न भएको आरोपमा पाण्डेलाई पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा लिएको पाण्डे मेयरका उम्मेदवार गौतमसँगै चुनावी अभियानमा हिँड्ने युवा हुन् । पेट्रोल छर्किएर लाइटरले कारको अगाडि र पछाडि आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ ।

फुटेजमा देखिएका युवासँग हुलिया मिलेपछि पाण्डेलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको हो । मेयरका उम्मेदवार गौतमले पार्टीको झन्डा तथा मेयर र उपमेयरका उम्मेदवार पार्वती पौडेली (विक) को फोटोसहितको ब्यानर राखेर उक्त कार चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए । मेयरका उम्मेदवार गौतमले घरमा पार्किङ गरेर राखेको कारमा आगो लागेको देखेपछि छिमेकीले खबर गरेको बताए ।

उनका अनुसार आगजनीबाट अगाडि र पछाडिको केही भागमा क्षति पुगेको छ । गौतमले राप्रपाप्रतिको जनलहर देखेर आत्तिएकाहरू र प्रतिस्पर्धामा आउन नसक्नेहरूले सुनियोजित तरिकाले घटना गराएको बताए ।